सुकुम्बासी रिक्जना,जसले जितिन् ४ स्वर्ण


म्याग्दी – म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिंदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् ।

सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन् । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना ।

म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ । बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दै आएकी छिन् । बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन् । रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको विद्यालयका शिक्षक हर्क छन्त्यालले बताए ।

रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन् । उनले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन् ।

रिक्जना मङ्गलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् छिन् । उनी एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुन् । उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो । ‘अवसर र वातावरण पाए खेलमा अझै राम्रो गर्न सक्छु’, रिक्जनाले खुसी हुँदै भनिन् ।

माझीको घरको अवस्था भने अत्यन्त दयनीय छ । बिहान खाए, बेलुकी के खाउँको अवस्था छ । बाआमाले मजदुरी गरेरै जीविका चलाएका छन् । तर रिक्जनाले बाआमालाई थोरी भए पनि खुसी दिलाएकी छिन् ।

रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको मङ्गला माविका खेल शिक्षक हर्कबहादुर छन्त्यालले बताउ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउँछन्। ‘स्थानीय तहले यस्ता प्रतिभालाई मद्दत गर्नु पर्छ’, उनले भने।

रिक्जनाले खेलमा राम्रो गर्न सक्ने सम्भावना भए पनि उनको आर्थिक अवस्था बाधक बनेको छिमेकी श्याम विक बताउँछन्। रासस

प्रतिक्रिया दिनुहोस
Advertisement