काठमाण्डु– १९औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मूल समारोह’ आयोजना गरियो ।समारोहलाई राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपति पौडेलले सम्बोधन गरे । यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपतिबाट सम्बोधन भयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सबै सुरक्षा निकायका प्रमुखहरुको सहभागीता थियो ।
तर, कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु थिएनन् । पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, केपी ओली, सुशीला कार्की र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीमध्ये कोही पनि कार्यक्रममा सहभागी भएनन् ।
गृह मन्त्रालयले आयोजना गर्ने उक्त कार्यक्रममा यसअघि पूर्वप्रधानमन्त्रीहरुलाई निम्तो जाने गरेको थियो । यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले नै गृहमन्त्रीको कार्यभार सम्हालेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले कार्यक्रमको निम्तो नआएको बताए ।
‘यसअघि पूर्वप्रधानमन्त्रीलाई गणतन्त्र दिवसको कार्यक्रममा सहभागी हुन गृह मन्त्रालयबाट पत्र आउँथ्यो । यसपटक निम्ता आएन’, आचार्यले भने ।
यद्यपि १ सय २ डिग्री ज्वरो आएका कारण प्रचण्ड औषधि सेवन गरेर घरमै आराम गरिरहेका छन् ।




प्रतिक्रिया