काठमाण्डु– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘जनताले धेरै भोट दिएको र धेरै मन पराएको नेता जाने बाटो जेल रहेछ’ भन्दै व्यंग्य गरेका छन् ।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै चौधरीले लामिछानेलाई आफूले भैरहवा र नख्खु जेलमा भेटेको स्मरण गरे ।
धेरै जनताले मन पराएर मत दिए पनि जेल जानुपर्ने अवस्था रहेको भन्दै उनले आगामी दिनमा यस्तो अवस्था बदल्नुपर्ने बताए ।
चौधरीले अहिलेको राजनीतिक नेतृत्वबाट देश राम्ररी चल्न नसकेको भन्दै नेतृत्व परिवर्तनसँगै देश बनाउने जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्ने उल्लेख गरे ।
कांग्रेस सभापति गगन थापातर्फ संकेत गर्दै उनले आकाशमा रहेको कालो झण्डा, दायाँतर्फ नेपालको झण्डा र बायाँतर्फ कांग्रेसको झण्डा देखाउँदै कांग्रेसको राजनीतिक इतिहास स्मरण गरे ।
उनले कांग्रेसले राणा शासन अन्त्य गरेको, पञ्चायतको अन्त्य गरेको तथा १० वर्षे जनयुद्धको सामना गरेको बताए । २०६२÷६३ को १९ दिने आन्दोलनमा टाउकामा कफन बाँधेर सडकमा उभिने नेतामध्ये गगन थापा पनि रहेको उनको भनाइ थियो ।
‘गगनजी, तपाईंमाथि हेर्नुस्, आकाशमा कालो झण्डा छ, तपाईंको दायाँपट्टि नेपालको झण्डा छ र बायाँतिर तपाईंको पार्टी नेपाली कांग्रेसको झण्डा छ,’ चौधरीले भने ।
तर गणतन्त्र स्थापनासँगै धर्म र पहिचानको विषयमा भएको परिवर्तनप्रति भने उनले असन्तुष्टि जनाए । ‘१९ दिने जनआन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो ? हाम्रो पहिचानसँग कुनै साटफेर गर्न पाइँदैन,’ उनले भने ।
उनले थारू समुदायको सांस्कृतिक पहिचानसँग कुनै सम्झौता गर्न नसकिने बताए । दशैँमा लगाउने जमरा र तिहारमा लगाउने सप्तरंगी टीकासँग आफ्नो पहिचान साट्न नसकिने उनको भनाइ थियो ।
कांग्रेसले कमैया मुक्ति गरेको र नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै चौधरीले संविधानमा अधिकार लेखिए पनि व्यवहारमा सबैले समान अधिकार नपाएको गुनासो गरे ।
‘कांग्रेस पार्टीले कमैया मुक्ति गरेको थियो । नेपालको संविधान बनाउने पनि कांग्रेस पार्टी हो । संविधानमा सबै नेपालीलाई अधिकार प्रदान गरिएको छ,’ उनले भने, ‘अधिकार त लेखिए, तर दिएनन् गगनजी । हामीले अधिकार कहिले पाउने ?’
उनले राज्यका महत्वपूर्ण पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने भन्ने प्रश्नसमेत गरे ।
‘थारू कहिले सत्ताको कुर्सीमा पुग्ने ? थारू प्रधानमन्त्री, सेनापति र मुख्यसचिव कहिले हुने ?’ चौधरीले प्रश्न गरे ।
चौधरीले विगतमा आफूलाई युवा बताउने नेताहरूबाट देशले अपेक्षित गति लिन नसकेको टिप्पणी गर्दै अब नयाँ पुस्ताका नेताबाट देश निर्माणको आशा गरिएको बताए ।




प्रतिक्रिया