काठमाण्डु– नागरिक उन्मुक्ति पार्टीभित्रको पुरानो शक्ति संघर्ष रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको सार्वजनिक जुहारीका रूपमा देखिन थालेको छ ।
श्रीमान–श्रीमती समेत रहेका यी दुई नेताबीचको असमझदारी फेसबुकका कटाक्षपूर्ण स्टाटसमार्फत बाहिर आएपछि उनीहरूको राजनीतिक र व्यक्तिगत सम्बन्धमाथि फेरि प्रश्न उठेको छ ।
रेमश नागरिक उन्मुक्तिका संरक्षक छन् भने रञ्जिता नेकपा केन्द्रीय सदस्य छिन् । टिकापुर नरसंहारमा संलग्न रहेको आरोपमा रेशम जेलमा हुँदा रञ्जिताले पार्टी सम्हालेकी थिइन् ।
तर, रेशम राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गराएर जेलबाहिर आएपछि दुईबीचको खटपटले पार्टी नै छिन्नभिन्न भएको छ ।
दुवै एकअर्काको नाम उल्लेख नगरी एकअर्काविरुद्ध सांकेतिक रुपमा ‘फेसबुक वार’मा उत्रिएका छन् ।
रेशमले नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेपछि रञ्जिताले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले पार्टीभित्रै अस्थिरता निम्त्याउने गतिविधि र संगठन कमजोर बनाउने प्रवृत्तिमाथि प्रश्न उठाउँदै रूपमा रेशमप्रति कटाक्ष गरेकी हुन् ।
आफ्नै घर व्यवस्थापन गर्न नसक्नेले अरूको घर जोगाउने दाबी गर्नु विरोधाभासपूर्ण हुने उनको भनाइ थियो ।
संस्कृत उक्ति प्रयोग गर्दै उनले लेखेकी छन्, ‘स्वगृहे दाहं कृत्वा परगृहं रक्षितुमिच्छति ।’ यसको नेपाली अर्थ ‘आफ्नै घरमा आगो लगाउनेले अरूको घर जोगाउने दाबी गर्नु’ भन्ने हुन्छ ।
रञ्जितालाई फेसबुकबाटै जवाफ फर्काउँदै रेमशले उक्त आफूलाई कमजोर पार्ने प्रयास भइरहेको बताए । विगतमा आफ्नो साथबाट अघि बढेकाहरूले नै अहिले प्रहार गरिरहेको उनको भनाइ छ ।
‘घरमा भ्वाङ मैले पारेको होइन, आफैंले भित्तामा भ्वाङ पारेर अर्काको घर ताक्नेले किन बहुलट्ठीपन प्रदर्शन गरिरहनु’, उनले लेखेका छन् ।
उनले आफूमाथिको प्रहार हन्ततः रञ्जितामाथिकै प्रहार हुने समेत दाबी गरे । ‘जुन गोली पड्काएर मलाई सिकार गर्न खोजिदैछ, त्यही गोली उता फर्के आफै मरिने हो’, उनी भन्छन् ।
रेशमले धार्मिक र नैतिकताको प्रसंग उठाउँदै रञ्जिताप्रति अर्को कटाक्ष गरेका छन् ।
‘धार्मिक मान्छेले सबको भलो होस् भन्नुपर्छ, अर्काको सत्यानास होस् भन्ने मान्छे कहिल्यै पुजारी हुन सक्दैन’, उनले लेखेका छन्, ‘आफ्नो घर सम्हाल्नु, अर्काको घरमा आगो नलगाउनु । बाँकी जय होस् ।’




प्रतिक्रिया