रोकिएन गैँडा मर्ने क्रम


भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् ।

“गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले भन्नुभयो । पछिल्लो समय यही मङ्सिर १८ गते बुधबार भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैँडा मृत अवस्थामा भेटियो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सिसुवारमा भेटिएको उक्त गैँडाको खाग र खुर सुरक्षित थियो र शरीरमा कुनै चोटपटक पनि लागेको थिएन ।

“मरेको गैँडा त्यस्तै तीस वर्ष उमेरको हो”, प्रवक्ता घिमिरेले भन्नुभयो, “मानव बस्तीमा गएर फापर, गहुँलगायतका खेती खाएको रहेछ । त्यसलाई पचाउन नसकी फुड पोइजन भएर मरेको निष्कर्षमा हामी पुग्यौँ । ”निकुञ्जमा यसअघि विष प्रयोगबाट गैँडा मरेको घटना बाहिर आए पनि फुड पोइजनका कारण कुनै पनि गैँडा मरेको तथ्य भेटिँदैन । त्यसो त अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा ४३ वटा गैँडा चितवन निकुञ्जमा कालगतिले नै मरेको निकुञ्जसँग तथ्याङ्क छ । यो सङ्ख्या २०७४-०७५ मा २६, २०७३-०७४ मा २५ वटा थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक रामचन्द्र आचार्यको नेतृत्व टोलीले गत वर्ष निकुञ्जमा गैँडा मर्नुका कारण अध्ययन गरेको भए पनि यसको यकिन कारण बाहिर सार्वजनिक गरेको पाइँदैन तर केही विज्ञले भने बासस्थानकै कारण समस्या भएको आँैल्याउँदै आएका छन् ।याे समाचार गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement