भारतीय मूलका ऋषि सुनक बन्लान् बेलायतका प्रधानमन्त्री ?


एजेन्सी – बेलायती सांसद ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्रीको दौडमा सामेल भएका छन् ।

बोरिस जोन्सनले आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेपछि भारतीय मूलका बेलायती सांसद सनक दोस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा निस्किएका हुन् ।

उनी बेलायतको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । केही महिनाअघि राजीनामा दिएका जोन्सनको कन्जरभेटिभ पार्टीमा अहिले पनि राम्रो प्रभाव छ ।

उनी प्रधानमन्त्री बन्ने दौडमा सामेल नहुने भएपछि उनी पक्षका धेरै सांसदले ऋषिलाई साथ दिने देखिएको छ । तीमध्ये केहीले सार्वजनिक रूपमै सुनकलाई समर्थन गरिसकेका छन्।

बेलायतको तल्लो सदन हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीको एकल बहुमत छ । कन्जरभेटिभ पार्टीले सरकार बनाउन सक्ने भएकाले प्रधानमन्त्री बन्न उक्त दलको नेता चुनिनु पर्छ ।

कन्जरभेटिभ पार्टीले यसपालि निर्वाचन प्रक्रिया छोट्याउन सय जना सांसदले समर्थन गरेको व्यक्ति मात्र उम्मेदवार बन्न पाउने नियम बनाएको छ । ऋषिका पक्षमा अहिले नै १०२ जना सांसद पुगिसकेको बताइएको छ ।

एक जनाको मात्रै उम्मेदवारी परे आजै नयाँ नेता चयन हुने छन्। दुई जना भन्दा बढीको उम्मेदवारी परे सांसदहरूबीच मतदान हुनुका साथै अनलाइनबाट पार्टी सदस्यले भोट दिने व्यवस्था मिलाइएको छ ।

ऋषि प्रधानमन्त्रीमा चयन भए भने उनी कुनै बेला भारतमाथि उपनिवेश गरेको बेलायतको प्रधानमन्त्री हुने पहिलो भारतीय मूलका व्यक्ति हुने छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement