काठमाण्डु- सरकारले आगामी आर्थिक वर्षदेखि काठमाण्डु उपत्यकालगायत प्रमुख सहर धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाइने लक्ष्य राखेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि काठमाण्डु उपत्यकालगायत प्रमुख सहरी सडकको नियमित मर्मतसम्भार गरी धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाइने बताए ।
उनका अनुसार सडक मर्मतसम्भारलाई राष्ट्रव्यापी अभियानका रूपमा सञ्चालन गर्न २८ अर्ब ५२ करोड विनियोजन गरिएको छ । राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूलित संरचना निर्माण गरिनेछ । पहिरोका कारण राजमार्गमा हुने अवरोध तत्काल हटाई यातायात सेवा सुचारु गर्न तीन अर्ब १७ करोड विनियोजन गरिएको छ ।
प्रमुख सडक चोकमा ट्राफिक सङ्केत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारेयर तथा डिभाइडर जडान एवं मर्मत कार्यलाई निरन्तरता दिँदै सडक सुरक्षाका लागि रु दुई अर्ब ४६ करोड विनियोजन गरिएको छ ।”
उनका अनुसार बर्दिबासदेखि काठमाण्डु–तराई–मधेस द्रुतमार्गको प्रारम्भ विन्दुसम्म रेलमार्ग निर्माण कार्य अगाडि बढाइनेछ । निर्माणाधीन बथनाहा–विराटनगर तथा जनकपुर–जयनगर–बर्दिबास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसी क्यामेरासहितको आधुनिक ‘ब्लू बस सेवा’ सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख छ ।




प्रतिक्रिया