चितवन – नारायणगढ–मुग्लिन सडक भोलि सोमबार बिहानदेखि आंशिकरूपमा बन्द हुने भएको छ ।
तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले सवारीसाधन आवागमन बन्द गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालयद्वारा आईतबार जारी सूचनामा भनिएको छ, ‘कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिनेछ ।’
कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारीसाधन आवागमन सञ्चालन नहुञ्जेलसम्म मर्मत कार्य जारी रहने सूचनामा जनाइएको छ ।
सवारीसाधन आंशिक रूपमा बन्द गरेर तुइन खोलामा समय–समयमा खसिरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउनेलगायत काम गर्न लागिएको जनाइएको छ । पहिरो खस्न सक्ने सम्भावित भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको छ ।
नारायणगढ–मुग्लिन सडक बिहान ८ देखि ८:३०, १०:३० देखि ११, दिउँसो १ देखि १:३०, ३:३:० देखि अपराह्न ४ र साँझ ६ बजेपछिको समयमा खुला गरिनेछ । यसबाहेकको समयमा सवारी रोकेर मर्मत कार्य हुने सूचनामा उल्लेख छ ।





प्रतिक्रिया