रोकिएन सीमानाबाट भित्रिने क्रम


धनगढी- कैलालीको त्रिनगर भन्सार सीमानाका भइ भित्रिने नेपालीको उद्धार गर्ने काम अहिले पनि जारी छ । कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज नेपाली नागरिक स्वदेश भित्रिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले भन्सार नाकाबाट हालसम्म जम्मा १ लाख बढी नेपाली स्वदेश भित्रिएको बताए । ‘बन्दाबन्दीको शुरूका समयमा सीमानाका हुँदै भित्रिने नेपालीको संख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको संख्या घट्दो क्रममा छ,’ उनले भने, ‘आजभोलि दिनमा १०० देखि २/३ सयको हाराहारीमा नेपाली भित्रिरहेका छन् ।’ शुरूका दिनमा सोही नाकाबाट एकैदिनमा ६ हजारसम्म नेपाली भित्रिएको तथ्यांक छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले बाहिरका जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्था बाहेकका अन्य सवारी पास उपलब्ध नगराउने भएको छ । आफैं काजकिरिया बस्न जाने वा किरिया सकेर घर फर्कने, सरकारी अस्पतालबाट सिफारिस गरिएका सिकिस्त बिरामी, सरुवा भई रमाना लिइ हाजिर हुन जाने कर्मचारी र निजका परिवार र हवाई टिकट सुरक्षित भई टिकट सूचीमा नाम भएका विदेश जानुपर्ने बाहेकका अन्य सवारी पास स्थगन गरिएको कार्यालयका सूचना अधिकारी जोशीले बताए ।

अन्तर जिल्ला आवागमनका लागि जारी गरिँदै आएका सवारी पास हाल लकडाउन खुलिसकेको र सार्वजनिक यातायातको सन्दर्भमा जारी नगर्न गृह मन्त्रालयबाट निर्देशन भएबमोजिम अन्य सवारी पास उपलब्ध नगराइने उनले जानकारी दिए । कार्यालयले नियमितरूपमा सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बेला सवारी पासका कारण कार्यालयको सेवा प्रवाहमा असर परेकाले शुक्रवारबाट अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट अन्य कामका लागि सवारी पास जारी नगरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement