रोल्पा पहिरोमा ज्यान गुमाउनेप्रति सरकारको समवेदना, तत्काल राहत र आवासको व्यवस्था गरिने

रोल्पा पहिरोमा ज्यान गुमाउनेप्रति सरकारको समवेदना, तत्काल राहत र आवासको व्यवस्था गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै समवेदना व्यक्त गरेका हुन् ।

साथै कार्यालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

अविरल वर्षाका कारण साउन २७ र २८ गते राति थवाङ गाउँपालिका–५ कोटलबारा तथा सुनछहरी गाउँपालिका–२ फलबाङ र गिच्छेमा गएको पहिरोमा परी १५ जनाको मृत्यु भएको छ। घटनामा २ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन्।

प्रभावित परिवारलाई ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ बमोजिम मृतकका परिवारलाई आर्थिक सहायता, बेपत्ता व्यक्तिका परिवारलाई निर्धारित राहत तथा घर क्षति भएका परिवारलाई तत्काल राहत, अस्थायी आवास र निजी आवास पुनर्निर्माणका लागि आवश्यक सहायता उपलब्ध गराइने कार्यालयले जनाएको छ।

बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जनाउँदै सरकारले मनसुनजन्य विपद्को जोखिम कायम रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।