सुनछहरी पहिरोमा बेपत्ता श्रीमान–श्रीमतीसहित तीनै जना मृत फेला

सुनछहरी पहिरोमा बेपत्ता श्रीमान–श्रीमतीसहित तीनै जना मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको सुनछहरी गाउँपालिका–२ फलावाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ ।


बिहीबार राति अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ७७ वर्षीय वीरबहादुर घर्तीमगर, उनकी ६८ वर्षीया श्रीमती शनी घर्तीमगर र छिमेकी ७० वर्षीया लली घर्तीमगर बेपत्ता भएका थिए ।

लली राति वीरबहादुरको घरमा सुत्न गएकी थिइन् ।

प्रहरी र स्थानीयले खोजी गर्दा शुक्रबार तीनै जनाको शव फेला परेको हो ।

रोल्पा प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार सुनछहरी–२ कै गिट्ठेमा पहिरोले स्थानीय लादे बुढा मगरको घरसमेत पूर्ण रूपमा भत्काएको छ । बुढामगर अझै सम्पर्कविहीन छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फलावाङमा पहिरो गएको जानकारी स्थानीयले शुक्रबार बिहान ८ बजेपछि प्रहरीलाई दिएका थिए । सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक मकर रासकोटीको नेतृत्वमा प्रहरी टोली बिहान करिब ९ बजे घटनास्थल पुगेको थियो ।


यसअघि रोल्पाकै थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार साँझ गएको पहिरोमा परी १० जनाको मृत्यु भएको थियो । पहिरोमा परी थप तीन जना भने अझै बेपत्ता छन् ।

उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय थवाङ, उवा लगायतका प्रहरी युनिट परिचालन गरिएको डिएसपी बाखुले जानकारी दिए ।