रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ।

एक महिला र दुई जना पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेको हो ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन्।

उक्त पहिरोमा परी बेपत्ता ५ जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेहरुमा सोही ठाउँ बस्ने ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लीलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन्।

सशस्त्र प्रहरी बल नेपाल गुल्म प्युठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली बेपत्ता भएकाहरुको खोजीकार्यको लागि परिचालन भएको छ।

वर्षा लगातार भइरहेका कारण लेदोसहितको पहिरो आइरहेको हुँदा उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ ।