पत्रकार खड्काले गृहजिल्लामा गरे स्वास्थ्य सुरक्षा सामग्री सहयोग


महेन्द्रनगर – कोरोना भाइरस (कोडिभ–१९) संक्रमणको रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मीसँग पर्याप्त सुरक्षा सामग्री उपलब्ध नभएको बेला पत्रकार रोशन खड्काले गृहजिल्ला कञ्चनपुरमा सहयोग गरेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भई काठमाडौंमा कार्यक्षेत्र भएका पत्रकार खड्काले बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका हुन् ।

पत्रकार खड्काले पठाएका ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), ८०० थान सर्जिकल मास्क, २३ थान हेन्डवास र २० थान एन९५ मास्क स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । काठमाडौंपाटी डटकमका सम्पादक रहेका पत्रकार खड्काले आइतवार नेताद्वय पल्लभराज भट्टमार्फत बेलौरी नगरपालिका र अक्कलबहादुर विष्टमार्फत बेलडाँडी गाउँपालिकालाई सामग्री हस्तान्तरण गरेका छन् । स्वास्थ्य सामग्री बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्यकर्मीले कोरोनाका शंकास्पद बिरामीको उपचार गर्दा अत्यावश्यक मानिने पीपीई पत्रकार खड्काबाट प्राप्त भएर धेरै सहयोग भएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘हाम्रो गाउँपालिकामा स्वास्थ्यकर्मीलाई पीपीई अभाव थियो, सहयोग प्राप्त भएर अब सजिलो हुनेछ,’ अध्यक्ष थापाले भने । व्यक्तिगत सुरक्षाका लागि पीपीई नहुँदा स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न डराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement