काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ जना पूर्व अध्यक्षहरू कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीले वर्तमान अवस्थाबाट विचलित भएर पार्टी छाड्ने वा पलायन हुने जस्ता आत्मघाती कदम नचाल्न नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् ।
शनिबार संयुक्त वक्तव्य जारी गर्दै पूर्व अध्यक्षहरूले जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तप्रति निष्ठावान् रहँदै अघि बढ्न सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गरेका छन् ।
बहुदलीय प्रजातन्त्र पुन:स्थापनापश्चात् देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापना गर्ने उद्देश्यका साथ २०४७ जेठ १५ गते राप्रपाको उदय भएको स्मरण गर्दै पूर्व अध्यक्षत्रयले मुलुकको वर्तमान संकटबाट मुक्तिका निम्ति पार्टीलाई अझ सशक्त ढङ्गले सङ्गठित गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको बताएका छन् । पार्टी जीवनमा हारजीत तथा आरोह–अवरोह हुनु स्वाभाविक भएको बताइएको छ ।
गत निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको स्वीकार गर्दै विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकतालाई सुदृढ गर्दै सशक्त कार्ययोजनाका साथ अघि बढ्न सक्यौँ भने छोटो अवधिमै अप्रत्याशित सफलता हासिल गर्न सक्छौँ र हिन्दूराष्ट्र एवं राजसंस्थाको पुन:स्थापना गर्न सक्छौँ ।’
राप्रपाको भविष्य उज्वल रहेकाले वर्तमान अवस्थाबाट कत्ति पनि विचलित नभई पार्टी सङ्गठन निर्माणमा जुट्न आग्रह गरिएको छ ।
आगामी जेठ अन्तिम हप्ता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति निश्चित गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिले गरिसकेको विज्ञप्तिमा उल्लेख छ । तोकिएको समयमै महाधिवेशन हुने कुरामा शंका नगर्न आग्रह गर्दै नेताहरूले पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले नै गर्ने स्पष्ट पारेका छन् ।





प्रतिक्रिया