कोशीमा सरकार जोगाउन सिंहदरबारमा गठबन्धनको राप्रपासँग लेनदेन!


काठमाण्डु- सत्ता गठबन्धनले संसदीय सुनुवाइ समिति अन्तर्गत एउटा सभापतिकाे नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई दिएको छ । आज सत्ता गठबन्धनले राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिएका हुन् । यसभन्दा अघि संसदीय सुनुवाइ समितिको सभापतिको भागबण्डा गर्दा राप्रपालाई बाइपास गराइएको थियो ।

प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बाहिर राखेर संसदीय समिति सभापतिको भागबण्डा गरिएको थियो । तर, आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको भागमा परेको राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिएका हुन् ।

यससँगै उक्त सभापतिका लागि मकवानपुरबाट निर्वाचित राप्रपाका सांसद दीपक सिंह उम्मेदवार बनेका छन् ।प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिनापछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको छ ।

अन्तिम समयमा आएर सदीय समितिको सभापतिको भागबण्डामा सत्ता गठबन्धनले राप्रपालाई सामेल गराएपछि कोशीमा सरकार टिकाउन गठबन्धनले चलखेल गरेको हो । कोशीमा सरकार गठन गर्दा राप्रपाले सत्ता गठबन्धनलाई साथ दिएको छैन । त्यसपछि सरकार टिकाउन मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष समेतको मतबाट विश्वासको मत लिएका छन् ।

यसैबीच नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि बिहीवार सुनुवाइ गर्दै सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्म मान्न नसकिने जनाएको छ । थापाको नेतृत्वमा रहेको कोशी सरकार पूनः धरापमा छ । त्यसकारण कोशीमा राप्रपालाई आफ्नो पक्षमा ल्याउन पूर्वाधार विकास समितिको सभापति राप्रपाको भागमा लगाइएको हो ।

आइतबार प्रधानमन्त्री प्रचण्डसहित सत्तापक्ष र राप्रपाका नेताहरूबीच सिंहदरबारमा छलफल भएको थियो । उक्त छलफलमा मुख्यमन्त्री थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने सर्तमा प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिइएको हो । यससँगै कोशी प्रदेश सरकारलाई राप्रपाले समर्थन गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement