काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई धार्मिक र साम्प्रदायिक रंग दिने कोसिस गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त घटना हिन्दू समुदाय लक्षित रहेको आरोप लगाए । सामाजिक सदभाव भड्किएका बेला त्यसलाई साम्य पार्न जिम्मेवार भूमिका खेल्नुपर्ने संसदभित्रको दलका अध्यक्षले एक समूहको पक्षमा उभिएर विज्ञप्ति आउनुलाई गम्भीर रुपमा हेरिएको छ ।
लिङदेनले तराई–मधेसमा बेलाबेला हुने साम्प्रदायिक घटनाको निशानामा हिन्दू समुदाय पर्ने गरेको जिकिर गरेका छन् । राप्रपा हिन्दू राज्यसहितको राजतन्त्रको पक्षमा छ ।
‘विशेषतः तराई–मधेसका विभिन्न क्षेत्रमा चाडपर्व वा धार्मिक अवसरका बेला पटक–पटक तनाव, हिंसा र साम्प्रदायिक विवाद उत्पन्न हुने तथा हरेक घटनाको निशानामा हिन्दु समुदायलाई बनाइने गरिएको छ’, लिङदेनले भनेका छन्, ‘हरेक घटनाको निशानामा हिन्दु समुदायलाई बनाइनु दुःखद, आपत्तिजनक र रहस्यमय छ । हिन्दु समुदाय लक्षित घटनाहरुको हामीले सुरुआती अवस्थादेखि नै अत्यन्त सुक्ष्म ढंगबाट हेरिराखेका छौं । धार्मिक संवेदनशीलतामाथि प्रहार भइरहेको यस्ता घटनाको कारण, पृष्ठभूमि, योजनाबद्ध पक्ष, सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वसमेतको गहिरो अध्ययन गरी समस्याको जरासम्म पुगेर दीर्घकालीन समाधान खोज्न सरकारसँग राप्रपा आग्रह गर्दछ ।’
उनले पटकपटक दोहोरिरहेको यस्ता घटनालाई सधैंको लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाइ तत्काल संवादको थालनी गर्न र आगामी दिनमा यसप्रकारका घटना नहुने सुनिश्चितता प्रदान गर्न सरकारसँग माग गरे ।
प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास संविधान र कानुनले सुनिश्चित गरेको अधिकारभित्र रही निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्ने राप्रपाको भनाइ छ ।
तर, श्रृंखलाबद्ध हिंसात्मक घटनाप्रति राज्यको उदासीनताका कारण देश द्वन्द उन्मुख हुने सम्भावनाले आफ्नो दललाई अति चिन्तित तुल्याएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही माग गरे ।
‘घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गबाट छानबिन गरी कानुनविपरीत हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सदभाव बिथोल्ने जुनसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ’, लिङदेनले भनेका छन्, ‘ दण्डहीनताको संस्कृतिले यस्ता घटनालाई थप प्रोत्साहन गर्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन ।’
देवानगञ्जमा भएको हिंसात्मक घटनाका क्रममा एक युवाले गुमाएको तथा अन्य केही व्यक्ति घाइते भएको घटनाले अत्यन्त मर्माहत र चिन्तित बनाएको लिङदेनले बताए ।
राप्रपा हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति कुनै पनि रूपमा स्वीकार नगर्ने भन्दै उनले सदियौंदेखि कायम रहेको धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सदभाव, विधिको शासन र नागरिक सुरक्षाको पक्षमा दृढतापूर्वक उभिँदै आम जनतामा शान्ति, सुरक्षा र न्यायको प्रत्याभूति गराउन आवश्यक सम्पूर्ण कदम तत्काल चाल्न सरकारसँग आग्रह गरेका छन् ।
परिस्थितिको संवेदनशीलतालाई ध्यान दिई सामाजिक एकता, आपसी सदभाव र संयम कायम राख्न आम जनसमुदायमा अपील पनि गरेका छन् ।
राप्रपाले मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।





प्रतिक्रिया