काठमाण्डु – सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।
प्रवक्ता मनिष झाका अनुसार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अपराह्न ३ बजे बैठक बोलाइएको छ ।
झाका अनुसार बैठकमा विभिन्न ९ एजेण्डामा छलफल हुनेछ । यसअघि आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको थियो । बैठकमा करिब २० केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।
विधान संशोधन, पदाधिकारी मनोनयन, पार्टीको पहिलो महाधिवेशनको कार्यविधि मस्यौदा लगायतबारे छलफल हुनेछ ।
रास्वपा विधानमा वरिष्ठ नेताको प्रावधान छैन । बालेन्द्र शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएकाले सोहीअनुसार विधानमा नयाँ व्यवस्था थप गर्न लागिएको छ ।
यस्तै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न रास्वपाले ‘उम्मेदवार क्लब’ को अवधारणा अघि सारेको छ । त्यसका लागि आवेदन आह्वानसहित प्रक्रिया टुंगो लगाउने विषय पनि बैठकको एजेण्डामा छ । यस्तै गैरआवासीय नेपालीलाई विदेशबाटै मतदानको प्रबन्धसम्बन्धी एजेण्डामा पनि बैठकमा छलफल हुने प्रवक्ता झाले बताए ।




प्रतिक्रिया