काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्दै उपसभामुख बनेकी इन्दिरा रानामगरले २५ फेब्रुअरी २०२३ (२०७९ फागुन १३) मा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि अहिले यो विषयले राजनीति तातेको छ ।
संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) मा सहभागी हुन जाने क्रममा रानाले प्रतिनिधिका रूपमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङलाई आफूसँगै अन्तर्वार्ताको मिति मिलाइदिन उपसभामुखको लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
यसअगाडि पनि विभिन्न प्रकरणमा फसेर अफ्ठ्यारोमा पर्दै आएको रास्वपालाई ‘रानामगर–पत्र प्रकरण’ले झन् गाह्रो बनाएको छ । यो पत्रसँगै रास्पवपाका केही नेताहरू ‘पार्टी नबन्दै सिध्याउने भए । यति धेरै काण्ड छलेर कसरी अघि बढ्ने होला ?’ भन्दै अनौपचारिक रूपमा चिन्ता व्यक्त गरिरहेका देखिन्छन् ।
लेटरहेड, छाप र हस्ताक्षर प्रयोग गरी अमेरिकी दूतावासलाई अन्तर्वार्ताको समय मिलाउन लेखिएको पत्रमा आर्थिक लेनदेनका विषय बाहिर आएपछि राना विवादमा तानिएकी छन् । अहिले उनीमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ ।
यो घटनासँगै रास्वपाले छोटो समयमै जसरी चर्चा कमायो बदनामी पनि उत्तिकै हुँदै गइरहेको छ ।
रास्वपालाई पार्टी नबन्दै बदनामी गराउने घटना यो पहिलो भने होइन । सरसर्ती हेर्दा यो पाँचौ घटना हो । रवि लामिछाने नेतृत्वको प्रतिनिधि सभामा २१ सिटसहित चौँथो ठूलो दल रहेको रास्वपा भर्खर स्थापनाको दुई वर्ष पुग्दा काण्डैकाण्डले जेलिएको छ ।
उपसभामुख रानामगरको काण्ड आउनुपूर्व रास्वपा महामन्त्री डा.मुकुल ढकालले ३२ जिल्ला घुमेर तयार पारेको प्रतिवेदनले पार्टीमा बबण्डर निम्त्याएको थियो । विवाद बढ्दै जाँदा महामन्त्री ढकाललाई पार्टीले साधारण सदस्यमात्रै राखेर बाँकी पदबाट निलम्बन गरेको छ ।
इलाममा भएको उपनिर्वाचन लगत्तै असार ५ सम्म ३२ जिल्ला दौडाहा गरेर महामन्त्री ढकालले जनताको सुझावलाई प्रतिवेदन बनाएर कार्यान्वयन गर्न भन्दै सभापति लामिछानेलाई बुझाए । ढकालले पार्टी दुर्घटनाउन्मुख भएको भन्दै प्रतिवेदन तयार पारेका थिए ।
मिडियामा त्यो प्रतिवेदनको अंश बाहिरिएपछि र महामन्त्री ढकालको अभिव्यक्तिले पार्टीमा भुकम्प गयो । त्यसपछि पार्टीले कारबाही गर्दै उनको महामन्त्री र प्रवक्ता पद खोस्दै ३५ दिनभित्र स्पष्टीकरण बुझाउने समय उनलाई दिएको छ ।
अरु व्यक्तिका काण्ड त थिए, थिए सभापति लामिछाने पनि आफै काण्डैकाण्डमा जेलिएका छन् । अझ रास्वपामा काण्डको सुरुवात नै सभापति लामिछानेको नागरिकता विवादबाट सुरु भएको हो । नागरिकता विवादका कारण लामिछानेले सांसद र मन्त्री पद गुमाएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको मन्त्री र सांसद पद खारेज गरिदिएको थियो ।
२०७९ माघ १३ मा सर्वोच्चको त्यो फैसलापछि लामिछाने गैरनागरिक ठहरिएपछि वैशाख १० मा चितवनमा पुनः उपनिर्वाचन गरिएको थियो । उनले प्रक्रिया पु¥याएर पुनः जितेर सांसद र उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए ।
लामिछानेको त्यो मात्रै होइन पासपोर्ट काण्ड अझै सर्वोच्च अदालतमा बाँकी छ ।
त्यो मात्रै होइन लामिछानेमाथि सहकारी प्रकरणमा पनि आरोप लागेको छ । सूर्यदर्शन, सुप्रिम लगायत सहकारीबाट गैरकानुनी रूपमा रकम झिकेर गोरखा मिडिया नेटर्वकमा लगानीसम्बन्धी प्रकरणमा लामिछाने मुछिएका छन् । त्यो प्रकरणको छानबिन गर्न विशेष संसदीय छानबिन समिति नै बनेको छ । लामिछाने ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक रहँदा उनको नाममा पनि सहकारीबाट पैसा गएको देखिएको छ । आफूमाथि आरोप लागेका बेला लामिछानेले स्वार्थ बाझिने गृह मन्त्रालय सम्हालेको आरोप लागिरहेको छ ।
सभापति लामिछाने मात्र होइन रास्वपामा उपसभापति डोरप्रसाद अर्याल पनि विवादित भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका अर्याल स्वार्थ बाझिने मन्त्रालयमा मन्त्री बनेको भन्दै आलोचना भइरहेको छ । अर्याल वैदेशिक रोजगार कम्पनी सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेजका प्रालिका लगानीकर्ता हुन् । उनी अझै उक्त्त कम्पनीको अन्तर्राष्ट्रिय मार्केटिङ निर्देशक हुन् । अर्याल इजीलींक नामको रेमिट्यान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत छन् ।
रास्वपाले समानुपातिक तर्फबाट सांसद बनाएका ढाकाकुमार श्रेष्ठ पनि पैसा बार्गेनिङ गरेको सप्रमाण बाहिर आएपछि सांसद पदबाट बर्खास्त हुन पुगेका थिए । २०७९ चैतमा ६ गते बाहिरिएको मेडिकल व्यवसायी दुर्गा प्रसाईं र श्रेष्ठको अडियोमा सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादमा बाहिरिएपछि रास्वपाले बाध्य भएर श्रेष्ठलाई सांसद पदबाट हटाएको थियो ।
प्रतिक्रिया