काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा सदस्यता सम्बन्धी ‘कच्चा तथ्यांक’ समावेश हुँदा आमनागरिक, सञ्चारमाध्यम र सरोकारवालामा भ्रम सिर्जना भएको भन्दै दु:ख व्यक्त गरिएको छ ।
पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको भन्ने समाचार तथ्यगत रूपमा सही नभएको स्पष्ट पारेको हो ।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महाधिवेशनमा प्रस्तुत गरिएको तथ्यांक पार्टीको डिजिटल सदस्यता प्रणालीमा रहेका प्रारम्भिक आवेदन (सेल्फ–डिक्लेर्ड एप्लिकेसन डाटा) को समष्टिगत विश्लेषण मात्र भएको र त्यो प्रमाणित तथा अन्तिम सदस्यता अभिलेख नभएको उल्लेख गरिएको छ ।
रास्वपाले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन तथा नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा सदस्यका रूपमा संलग्न गराउने नीति, अभ्यास वा उद्देश्य नरहेको स्पष्ट गरेको छ । पार्टी विधानअनुसार पनि १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्रै सदस्य हुन सक्ने व्यवस्था रहेको जनाएको छ ।
पार्टीका अनुसार डिजिटल सदस्यता प्रणालीमा आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति छुट्टाछुट्टै प्रक्रिया हुन् । एप वा वेबसाइटमार्फत जोसुकैले सदस्यताका लागि आवेदन दिन सक्ने भए पनि नागरिकता वा अन्य आधिकारिक कागजातका आधारमा प्रमाणीकरण र आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सदस्यता स्वीकृत हुने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले प्रारम्भिक विश्लेषणमा केही आवेदकले विक्रम संवत् र इस्वी संवत् पात्रो प्रणाली गलत छनोट गरेको, जन्ममिति प्रविष्ट गर्दा टाइपसम्बन्धी त्रुटि गरेको वा जन्ममितिको स्थानमा हालको मिति राखेका कारण प्रणालीमा वास्तविकभन्दा कम उमेर देखिएको जनाएको छ ।
हाल पार्टीको डिजिटल प्रणालीमा ५ लाख २३ हजार ४६५ वटा सदस्यता आवेदन दर्ता भएको र तीमध्ये ३ लाख ९० हजार ११२ सदस्यको विवरण नागरिकता लगायतका आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको पार्टीले जनाएको छ । बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा रहेकाले प्रारम्भिक आवेदन विवरणलाई अन्तिम सदस्यता अभिलेखका रूपमा बुझ्न नहुने रास्वपाको भनाइ छ ।
यस घटनालाई गम्भीर रूपमा लिँदै पार्टीले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरेको जनाएको छ । अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीले स्वत: रोक्ने व्यवस्था लागू गरिने, प्रमाणीकरण भएका अभिलेखको पुन: परीक्षण गरिने, गल्तीवश स्वीकृत भएको सदस्यता भेटिए तत्काल खारेज गरिने तथा विक्रम संवत् र इस्वी संवत् सम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक सुरक्षा अपनाइने जनाएको छ ।
रास्वपाले पर्याप्त परीक्षण र प्रमाणीकरण पूरा नहुँदै प्रारम्भिक आवेदनमा आधारित तथ्यांक महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुन पुगेको स्वीकार गर्दै त्यसबाट सिर्जना भएको भ्रमप्रति दु:ख व्यक्त गरेको छ । सम्पूर्ण विवरण पुन: परीक्षण गरी संशोधित तथा अद्यावधिक तथ्यांक यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
यसअघि राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने समाचार सार्वजनिक भएपछि रास्वपासँग स्पष्टीकरण मागेको थियो ।






प्रतिक्रिया