रास्वपा महाधिवेशन सकिएपछि बल्ल सरकारमाथि सत्तारुढ सांसदकै सवाल

रास्वपा महाधिवेशन सकिएपछि बल्ल सरकारमाथि सत्तारुढ सांसदकै सवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा सकिएपछि बल्ल सत्तारुढ सांसदले सरकारमाथि सवाल गर्न थालेका छन् ।

महाधिवेशनअघि सांसद अमरेशकुमार सिंहबाहेक सबैजसो सांसदहरू सरकारको बचाउ र पक्षमा संसद्मा बोल्दै आएका थिए । सभामुख डोलप्रसाद (डीपी) अर्यालले समेत सरकारलाई ‘रुलिङ’ गर्न सकेका थिएनन् ।

विपक्षी दलहरूको अवरोध, संसद्मा असहज परिस्थितिका बाबजुद पनि सरकारलाई रुलिङ गर्न नसकेका सभामुख अर्यालले सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिए ।

उनले भने, ‘देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीमा भए/गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन सरकालाई निर्देशन गर्दछु ।’

सोमबारको बैठकमै रास्वपा सांसद रमेश प्रसाईँले गृहमन्त्रीले रोस्ट्रममा उभिएर उत्तर दिनुपर्ने माग गरे । उनले भने, ‘हालसालै जुन दुर्घटना कर्णाली राजमार्गमा भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्‍यो कि गरेन ? के मान्छे भीरमा अड्किएर हारगुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको साँचो हो ? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजनाहरू के–के छन् ? गृहमन्त्रीले यो रोस्ट्रममा उभिएर उत्तर दिनैपर्छ ।’

रास्वपाकै सांसद प्रकाश पाठकले गृहजिल्ला झापामा विद्युत् सेवा नियमित नहुँदा जनताले सास्ती पाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘लामो समय बिर्तामोेड, हल्दीबारी, डाँगीबारी, चकचकी, राजगढ, घेराबारी, बनियानी, भद्रपुर र कन्काईका नागरिक विद्युत्विहीन बन्न पुगे । प्राधिकरणले ७ घण्टापछि विद्युत् सेवा सञ्चालन त गर्‍यो । तर अनारमनी वितरण केन्द्रबाट प्राधिकरणको विद्युत् सेवा अवरुद्ध हुने सूचना दैनिक जारी भइरहेको छ । लो भोल्टेज, ओभरलोडसँगै ट्रान्सफर्मर पड्कने तथा विद्युत् अवरुद्ध हुने समस्या दिनहुँ बढिरहेको छ । ४० डिग्रीको गर्मीमा बसेका मेरो जिल्लाका नागरिकलाई चुनावपछि राज्यले चिन्न छाडेको हो ? कि विद्युत् आपूर्ति प्रणाली व्यवस्थापनका लागि यो मुलुकमा कुलमान घिसिङ नै चाहिएको हो ?’

रास्वपाकै सांसद आशिका तामाङले देशका विभिन्न स्थानका ब्रोइलर कुखुरा पाल्ने किसान बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारी निकायबाटै अपुष्ट सूचना प्रवाह हुँदा हल्ला बढी फैलिएको बताइन् ।

उनले भनिन्, ‘हाल देशका विभिन्न स्थानमा ब्रोइलर कुखुरा पालक किसानहरूले बजारमा बर्डफ्लुको हल्लाको त्रासका कारण गम्भीर समस्या भोगिरहेको जानकारी गराउनुभएको छ । यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने बजार मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानीमा जोमिख पर्ने अवस्था सिर्जना भएको छ । पुष्टि हुने प्रक्रियामा रहँदै गर्दा नेपाल टेलिकमको रिङटोनमा नेपाली कृषकलाई मार पर्ने सूचना समेत सम्प्रेषण गरियो । यस सन्दर्भमा वास्तविक प्रयोगशाला परीक्षण, प्रमाणका आधारमा पुष्टि भएका हुन् कि केवल आशंकाका आधारमा जारी भएका हुन् यो विषयमा स्पष्टता दिन अन्त्य आवश्यक देखिन्छ । वास्तवमै बर्डफ्लु संक्रमण पुष्टि भएको हो भने यसको नियन्त्रण, रोकथाम किसानको संरक्षणको लागि तत्काल प्रभावकारी कदम र सत्य तथ्यपरक सूचना प्रवाह गरी नियन्त्रण गरियोस्, ताकि किसानको मेहनत, लगानी र जीविकोपार्जन अनावश्यक रूपमा जोखिममा नपरोस् भन्दै नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

यसअघि असार १८ गते बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद पुरुषोत्तम यादवले लागूऔषध नियन्त्रणका लागि सरकारले स्पष्ट कार्ययोजना नल्याएको भन्दै आलोचना गरेका थिए ।  उनले भनेका थिए, ‘तथ्यांक अत्यन्तै डरलाग्दो छ । सिराहा जिल्लामा मात्रै पछिल्लो १५ दिनमा ६ वटा मुद्दा दर्ता भए, १२ जना पक्राउ परे र करिब ४१ किलो गाँजा, १०९ ग्राम खैरो हिरोइन बरामद भयो । एउटै जिल्लाको यो अवस्थाले देशकै चित्र झल्काउँछ । मैले राज्य व्यवस्था समितिदेखि सञ्चार माध्यमसम्म यो विषय उठाएको छु । तर सरकारसँग न स्पष्ट कार्ययोजना छ, न त युवालाई बचाउने दृढ इच्छाशक्ति छ । देशका युवा लागूऔषधको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निद्रामा छ । आज सरकारलाई घण्टी बजाएरै जगाउने बेला आएको छ ।’

उनले अगाडि भने, ‘लागूऔषध नियन्त्रणको सफलता पक्राउ परेको संख्याले होइन, कुलतमा फस्ने युवा संख्या घटेको आधारमा मापन हुनुपर्छ । त्यसैले तस्करीमाथि निर्मम कारबाही गर्दै नियन्त्रण गर्ने कार्ययोजना ल्याउन सरकारसँग माग गर्दछु ।’

असार दोस्रो हप्ता चितवनमा भएको रास्वपा राष्ट्रिय महाधिवेशनपछि पहिलो केन्द्रीय समितिको बैठक बसिसकेको छ भने सभापतिले मनोनित गर्ने पदाधिकारीको मनोनयन बाँकी छ । महाधिवेशन सकिएको अवस्थामा रास्वपा सांसदहरू संसद्मा सरकारमाथि सवाल गर्दै खुल्न थालेका छन् ।