काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले पार्टीको आधिकारिक निर्णय र उम्मेदवारी घोषणा नभएसम्म आफूखुशी स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार नगर्न पार्टीका नेता, सदस्य, समर्थक तथा शुभेच्छुकलाई निर्देशन दिएको छ ।
रास्वपा जिल्ला समिति डोटीले मंगलबार जारी गरेको अत्यन्त जरुरी परिपत्र तथा निर्देशनमार्फत केही व्यक्ति तथा समूहले आफूलाई पार्टीको तर्फबाट स्थानीय तहका विभिन्न पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रचार गरिरहेको भन्दै त्यस्ता सबै सामग्री तत्काल हटाउन वा हटाउन लगाउन निर्देशन दिएको हो ।
पार्टीको निर्णय प्रक्रियाभन्दा बाहिर गएर व्यक्तिगत उम्मेदवारीको प्रचार गर्ने, समूहगत रूपमा उम्मेदवारीको वातावरण बनाउने तथा पार्टीको नाम, झण्डा, चुनाव चिह्न र प्रतिष्ठा प्रयोग गरी राजनीतिक भ्रम सिर्जना गर्ने कार्य स्वीकार्य नहुने रास्वपा डोटीले जनाएको छ ।
जिल्ला सभापति केशव बलायरद्वारा जारी परिपत्रमा पार्टीको आधिकारिक निर्णय नआएसम्म कुनै पनि पदमा उम्मेदवारी दाबी वा प्रचारप्रसार नगर्न स्पष्ट निर्देशन दिइएको छ । यसअघि सामाजिक सञ्जाल वा अन्य माध्यममा उम्मेदवारीसम्बन्धी पोस्ट, ब्यानर, भिडियो, स्टाटस तथा अन्य प्रचार सामग्री प्रकाशित गरिएको भए तत्काल हटाउन भनिएको छ ।
रास्वपा डोटीले पालिका तथा वडा समितिहरूलाई समेत आ–आफ्नो क्षेत्रमा उम्मेदवारीसम्बन्धी गतिविधिको निगरानी गर्न निर्देशन दिएको छ । निर्देशनविपरीत गतिविधि भएको पाइएमा त्यसको प्रमाणसहित जिल्ला समितिलाई तत्काल जानकारी गराउन भनिएको छ ।
पार्टीको उम्मेदवार व्यक्तिले आफैं घोषणा गर्ने नभई पार्टीको विधि र आधिकारिक निर्णयबाट तय हुने रास्वपा डोटीले स्पष्ट पारेको छ । पार्टीको विधि, विधान, अनुशासन तथा निर्णय प्रक्रियालाई चुनौती दिने गतिविधि प्रमाणित भएमा सम्बन्धित व्यक्तिमाथि आवश्यक अनुशासनात्मक कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ ।





प्रतिक्रिया