काठमाण्डु – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूचीहरू तय गरिएका छन् ।
बैठकको मुख्य कार्यसूचीमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने विषय रहेको छ । रास्वपाले निर्वाचनमा उम्मेदवार तय गर्दा अपनाइने विधि र प्रक्रियालाई यसै बैठकमार्फत अन्तिम रूप दिने तयारी गरेको महामन्त्री विपीन आचार्यले जानकारी दिए ।
त्यस्तै केन्द्रीय समिति सदस्य मनोनयन सम्बन्धमा, पदाधिकारी मनोनयन सम्बन्धमा, सचिवालय सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुखहरूको मनोनयन सम्बन्धमा, र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा र पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने छ ।
यस्तै, रास्वपाले आफ्नो स्थापनाकालदेखि नै उठाउँदै आएको राइट टु रिकल (जनप्रतिनिधि फिर्ता बोलाउन पाउने अधिकार) सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयलाई पनि कार्यसूचीमा राखेको छ ।




प्रतिक्रिया