सांसद धितालमाथि कारबाही गर्न रास्वपासँग जेन्जी सहिद परिवारको माग

सांसद धितालमाथि कारबाही गर्न रास्वपासँग जेन्जी सहिद परिवारको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन्जी सहिद परिवार कल्याणकारी समाजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक तथा सांसद क्रान्तिशिखा धितालले सहिद तथा घाइतेसँग सम्बन्धित कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पार्टीसँग आवश्यक कारबाहीको माग गरेको छ ।

समाजले संसदीय दलका मुख्य सचेतकमार्फत रास्वपा संसदीय दलको कार्यालयमा विरोधपत्र बुझाउँदै सहिद परिवार, घाइते तथा उनीहरूको संवेदनामा चोट पुग्ने गरी अभिव्यक्ति दिनु राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिका लागि स्वीकार्य आचरण नभएको जनाएको छ ।

भदौ २३ र २४ गते जेन्जी सहिद परिवार कल्याणकारी समाज र घाइते नेपालले संयुक्त रूपमा आयोजना गरेको जेन्जी सहिद प्रथम स्मृति दिवसका सम्बन्धमा सांसद धितालबाट सार्वजनिक रूपमा व्यक्त गरिएको अभिव्यक्तिप्रति औपचारिक रूपमा गम्भीर आपत्ति र विरोध जनाइएको समाजले जनाएको छ ।

सहिद तथा घाइतेसँग सम्बन्धित कार्यक्रमको व्यवस्थापनमा सुधार गर्नुपर्ने विषय भए लोकतान्त्रिक रूपमा प्रश्न उठाउने अधिकार स्वीकार्य रहेको उल्लेख गर्दै समाजले सहिद परिवार, घाइते तथा उनीहरूको संवेदनामा चोट पुग्ने गरी अभिव्यक्ति दिनु उचित नभएको जनाएको छ ।

समाजले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद, घाइते भएका युवा तथा आफ्ना सन्तान गुमाएका परिवारको पीडा कुनै राजनीतिक दलको पक्ष वा विपक्षको विषय नभएको बताएको छ । राष्ट्रिय इतिहास, न्याय र मानवीय संवेदनासँग जोडिएको विषय भएकाले दलगत राजनीतिक दृष्टिकोणभन्दा माथि राखिनुपर्ने समाजको भनाइ छ ।

विरोध पत्रमा समाजले सांसद धितालको अभिव्यक्तिबारे पार्टीले तत्काल आधिकारिक रूपमा समीक्षा गर्न माग गरेको छ । सहिद परिवार तथा घाइतेहरूको संवेदनामा चोट पुर्‍याउने अभिव्यक्तिप्रति आवश्यक स्पष्टीकरण माग गरी पार्टीको विधान र आचारसंहिताअनुसार कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।

समाजले सहिद परिवार तथा घाइते नेपालका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरी उत्पन्न असन्तुष्टिको समाधानका लागि पहल गर्न पनि रास्वपासँग माग गरेको छ ।

भविष्यमा सहिद तथा घाइतेसँग सम्बन्धित विषयमा पार्टीका जिम्मेवार पदाधिकारी तथा सांसदहरूलाई संवेदनशील र जिम्मेवार अभिव्यक्तिका लागि स्पष्ट आचारसंहिता लागू गर्नुपर्ने माग पनि विरोध पत्रमा गरिएको छ ।

जेन्जी आन्दोलनका सहिद तथा घाइतेहरूको योगदानलाई दलगत राजनीतिक स्वार्थभन्दा माथि राख्दै न्याय, पुन:स्थापना र सम्मानका सवालमा पार्टीको स्पष्ट संस्थागत प्रतिबद्धता सार्वजनिक गर्न समाजले माग गरेको छ ।

समाजले आफ्नो विरोध कुनै राजनीतिक दलप्रति पूर्वाग्रहमा आधारित नभएको स्पष्ट पार्दै सहिदको सम्मान, घाइतेको अधिकार र पीडित परिवारको गरिमा रक्षा गर्नु आफ्नो संस्थागत दायित्व भएको जनाएको छ ।

जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधि जनतामाथि शासन गर्न नभई जनताको आवाज संसद् र राज्यका निकायसम्म पुर्‍याउन पठाइएका हुने उल्लेख गर्दै समाजले पद र प्रतिष्ठाभन्दा नागरिकप्रतिको उत्तरदायित्व, संवेदनशीलता र लोकतान्त्रिक संस्कारलाई प्राथमिकता दिनुपर्ने बताएको छ ।

रास्वपाले विषयलाई गम्भीरतापूर्वक लिएर तत्काल आवश्यक कदम चाल्ने अपेक्षा गरिएको समाजले जनाएको छ । अन्यथा सहिद परिवार तथा घाइते समुदायले आफ्नो संवैधानिक तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्दै थप संस्थागत प्रतिरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएको छ ।