रास्वपाले केन्द्रीय कार्यालय सार्ने, असोज २० देखि ‘हामी आउँदै छौँ’ अभियानसहित गाउँ जाने

रास्वपाले केन्द्रीय कार्यालय सार्ने, असोज २० देखि ‘हामी आउँदै छौँ’ अभियानसहित गाउँ जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्दै विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख मनोनयन गरेको छ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले असोज २० देखि २७ गतेसम्म ७७ जिल्लाका ७५३ वटै पालिकामा पुगेर जनतासँग छलफल तथा सुझाव संकलन गर्ने ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन गरेको छ । समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य मनोनित भएका छन् । पार्टीका सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहने रास्वपाले जनाएको छ ।

बैठकले विभिन्न केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख तथा सदस्यसमेत मनोनयन गरेको छ । प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्य र सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाललाई जिम्मेवारी दिइएको छ ।

विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग प्रमुखमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दिपक कुमार साह, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्द बहादुर चन्द र संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मीलाई मनोनयन गरिएको छ । संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा सम्राट बुढाथोकीलाई सदस्य तोकिएको छ ।

वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी, सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मा, अभियान तथा प्रचारप्रसार विभागमा आनन्द मिश्रलाई जिम्मेवारी दिइएको छ । अभियान तथा प्रचारप्रसार विभागमा आनन्द मिश्रलाई उपप्रमुखको जिम्मेवारीसमेत दिइएको विज्ञप्तिमा उल्लेख छ । अर्थ विभागको जिम्मेवारी डिल्लिश्वोर कार्को (रोहन)लाई दिइएको छ ।

बैठकले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । अभियानअन्तर्गत केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू ७७ जिल्लाका ७५३ पालिकामा पुगेर जनता, पार्टी तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने र सुझाव संकलन गर्नेछन् । बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिएको छ ।

रास्वपा मधेश प्रदेश संगठनका समस्या तथा समाधानका विषयमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन केन्द्रीय समिति बैठकमा पार्टी सभापति लामिछानेलाई बुझाइएको छ । प्रतिवेदनको अध्ययनपछि आवश्यक कदम चालिने पार्टीले जनाएको छ ।

बैठकले पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसूस गर्दै काठमाण्डु उपत्यकाको पायक पर्ने स्थानमा पार्टीका लागि जग्गा वा घर खरिद गर्न खोजी गर्न सदस्य तथा शुभेच्छुकलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

रास्वपाले आगामी विजयादशमी, दीपावली, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना पनि व्यक्त गरेको छ ।