भोलि रास्वपा संसदीय दलको बैठक बस्दै

भोलि रास्वपा संसदीय दलको बैठक बस्दै


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक भोलि बुधबार बोलाएको छ ।

दिउँसो २ बजे पार्टी कार्यालय चमतीमा बैठक बस्न लागेको छ ।

बैठकमा संसद्मा दर्ता भएका ६ वटा अध्यादेशको सन्दर्भमा छलफल गर्ने, नीति मन्थन विभाग र कानून विभागको संयन्त्रको विषयमा छलफल गर्ने एजेन्डा रहेको जनाइएको छ ।

रास्वपाले ६ वटा अध्यादेशको सन्दर्भमा अस्वीकार गरियोस् भन्ने सूचना संसद् सचिवालयमा दर्ता गरेको छ । बुधबारको बैठकमा ६ वटा अध्यादेशको विषयमा कसले कस्तो प्रस्तुति गर्ने भन्नेबारे छलफल हुनेछ ।

सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई निलम्बन फुकुवा गर्न दिएको पत्रको सन्दर्भलाई पनि बैठकको एजेन्डा बनाइएको छ । लामिछानेले १८ गते सभामुखलाई सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गर्दै पत्र बुझाएका थिए । सभामुखले अध्ययन गरेर जवाफ दिने बताएका थिए ।

रास्वपाले २४ गते हुने प्रतिनिधि सभामा पाथीभरा केवलकार विवादको विषयमा पनि उठाउने तयारी गरेको छ ।