काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले गृहमन्त्री रमेश लेखकले सदनमा १ जना प्रतिपक्ष उभिँदा पनि विरोध मानिनेछ भनेर धारणा राखेको भए पनि व्यवहारमा लागू नभएको बताएका छन् ।
मंगलबार संघीय संसद् भवन बाहिर बोल्दै उनले वर्तमान गृहमन्त्री रमेश लेखकले सदनमा गत वर्ष उभिएर १ जना प्रतिपक्ष उभिँदा पनि विरोध हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए तर आफूमा लागू गरेनन्, त्यसो हो भने मानव बेचबिखनको मुद्दा नै होइन भन्न सक्नुपर्ने धारणा राखे ।
उनले भने, ‘नागरिकता विधेयक, निजामती विधेयक समयको आवश्यकता हो । त्यो आउनुपर्छ । विधेयक कति आवश्यक छ भन्ने कुरा म बुझ्छु । त्यसमा कुनै पनि राजनीतिक रूपमा अवरोध सिर्जना गर्ने, त्यसलाई रोक्ने उद्देश्य छैन । विधेयक ल्याएको कुरामा कुनै नकारात्मक टिप्पणी पनि छैन । तर अहिले प्राथमिकताको विषय भनेको विधेयक ल्याउने गृहमन्त्रीले सदनमा गत वर्ष उभिएर भन्नुभएको होइन कि १ जना प्रतिपक्ष उभिँदा पनि विरोध मानिनेछ भनेर ? कि यो कुरा उहाँको पक्षमा मात्र लागू हुन्छ ? अरुका लागि लागू हुँदैन्थ्यो भन्नुपर्यो नि ! त्यसो हो भने उहाँहरूका लागि मानव बेचबिखनको मुद्दा नै होइन भनेर भन्नुपर्यो ।’
त्यसैगरी रास्वपाकी सांसद तोषिमा कार्कीले बैठक सञ्चालन गर्नका लागि संसद्ले आफ्नो मर्यादा कायम राख्नुपर्छ भनेर आफूहरू मर्यादित तरिकाले संसद्मा उपस्थित भएको बताइन् ।
‘हामीले सभ्य तरिकाले उपस्थित भएर बैठक सही तरिकाले सञ्चालन भएको छैन । यस्तो काम कारबाही गर्नु हुँदैन । बैठक सञ्चालन गर्नको लागि संसद्ले आफ्नो मर्यादा कायम राख्नुपर्छ भनेर आन्दोलनकारी मर्यादित तरिकाले संसद्मा उपस्थित हुँदै गर्दा गलत रूपमा बुझियो । निलो रिबन लगाएर आउँदै गर्दा केही मान्यहरूले आपत्ति जनाउनुभयो । यो सभ्य भएन भनेर हामीलाई भनि दिनुपर्यो । निलो रिबन लगाएर आउँदा हामी कहाँ असभ्य भयौं ?’ उनको प्रश्न थियो ।
प्रतिक्रिया