भिजिट भिसा प्रकरणमा रास्वपाले भन्यो – २ हजार पीडित सम्पर्कमा आएका छन्

भिजिट भिसा प्रकरणमा रास्वपाले भन्यो – २ हजार पीडित सम्पर्कमा आएका छन्


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।

गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडितहरू खडा जाहेरी दर्ता गराई नियोजित ढंगले आफ्नोविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

२ हजारभन्दा धेरै पीडित नेपाली नागरिक रास्वपाको सम्पर्कमा आएको भन्दै प्रवक्ता मनिष झाले त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आएको बताए ।

उनीहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका र यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास भएको उनले प्रस्ट्याए ।

‘भर्चुअल र फिजिकल माध्यमबाट २ हजारभन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो । त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो । हामीले उहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौ र यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो,’ उनले भने ।

रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको समेत उनले बताए ।

उनले भने, ‘रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृंखला मानेको छ । सासंद सुमना श्रेष्ठले निर्देशन दिएको भनेर आएको समाचार गलत छ । यस प्रकारको ब्यबहार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रोत्साहन गर्दैन । तथापि पार्टीमा आबद्ध कोही व्यक्ति भए/नभएकोबारे सत्य तथ्य पत्ता लगाउन प्रा.डा. माननीय चन्दा कार्की भण्डारीको संयोजकत्वमा बनेको यस समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्य रहनुभएको छ ।’