काठमाण्डु – प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले बहिस्कार गरेका छन् । उनीहरूको विरोधकाबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेपछि बैठक बहिस्कार गरेर बैठक कक्षबाट बाहिरिएका हुन् ।
प्रतिनिधिसभाको आजबाट सुरु हिउँदे अधिवेशनमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उठेर आकस्मिक समय माग गरे ।
तर सभामुख घिमिरेले बैठक सञ्चालन गर्न सहयोग गर्न आसनग्रहणका लागि आग्रह गरे पनि रास्वपाका सांसदले आकस्मिक समयमा बोल्नुपर्ने कुरा रहेको भन्दै समय माग गरिरहे।
जवाफमा सभामुखले भने, ‘आज दलीय आधारमा बोल्न र कुरा राख्न समय निर्धारण गरिएको छ। त्यहीँ बोल्न समय मिल्छ। अहिलेलाई बैठक सञ्चालनका लागि सहयोग गर्नुस्।’
रास्वपाका सांसदहरू उठिरहेपछि सभामुख घिमिरेले पेलेरै सभा सञ्चालन गरेका हुन् । त्यसपछि रास्वपा सांसदहरू बैठक स्थल छोडेर बाहिरिएका हुन् ।
रास्वपाले आकस्मिक समयमा पार्टी सभापतिसमेत रहेका निलम्बित सांसद रवि लामिछानेको पद फुकुवा हुनुपर्नेलगायतका विषय उठाउने तयारी गरेको थियो। यसबारे रास्वपाको तर्फबाट सांसद सोविता गौतमले बोल्ने निर्णय पनि यसअघि नै रास्वपाले गरिसकेको थियो।
सभामुखले रास्वपाका सांसदलाई आकस्मिक समयमा बोल्न नदिने बताइरहँदा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले भने ताली बजाइरहेका थिए। सभामुखले कार्यव्यवस्था समितिको बैठकमा पनि यसबारे जानकारी नगराएको भन्दै आपत्ति पनि जनाए।
प्रतिक्रिया