रास्वपाद्वारा सांसदहरुलाई आफूखुसी जिल्ला जान रोक, अर्को जिल्ला जान अनुमति चाहिने

रास्वपाद्वारा सांसदहरुलाई आफूखुसी जिल्ला जान रोक, अर्को जिल्ला जान अनुमति चाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सांसदहरुलाई आफूखुसी निर्वाचन क्षेत्र जान रोक लगाएको छ ।

महामन्त्री विपिनकुमार आचार्यले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीसँगको समन्यवमा मात्र निर्वाचन जान निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा उनले निर्वाचन क्षेत्रमा गरिने भ्रमण राजनीतिक रूपमा प्रभावकारी, संस्थागत र परिणाममुखी बनाउने गरी पार्टीसँग अनिवार्य समन्वय र सहकार्य गर्न भनेका छन् । आचार्यले त्यसलाई ‘रणनीतिक समन्वय’ नाम दिएका छन् ।


अबदेखि रास्वपा सांसदले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुपर्नेछ ।

सांसदहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र पुग्ने कार्यक्रम भए सम्बन्धित सांसद तथा पार्टी संयन्त्रलाई सूचित तथा आवश्यक समन्वय गर्न पनि निर्देशन दिइएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोकेको सुशासन, जवाफदेहीता र नागरिक केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संघीय संसद् र भुइँ तहका नागरिकबीचको जीवन्त संवाद अपरिहार्य छ,’ आचार्यले भनेका छन्, ‘निर्वाचन क्षेत्र तथा जिल्ला नागरिकहरूमाझ केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही, पार्टीको राजनीतिक दृष्टिकोणलाई विस्तार गर्ने, संगठनलाई ऊर्जावान् बनाउने र जन–अभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान’ बन्नुपर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ ।’


संस्थागत समन्वय र पूर्व–सूचना, स्थानीय मुद्दाको प्राथमिकीकरण, सांगठनिक अपनत्व र जन–परिचालन, मितव्ययिता र सुशासन, नीतिगत पृष्ठपोषण प्रणाली लगायत विषय ध्यानमा राखेर काम गर्न पनि रास्वपाले सांसदहरुलाई निर्देशन दिएको छ ।


सांसदहरूको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एक–अर्काका पूरक भन्दै उनले सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्‍याउने उल्लेख गरेका छन् । उनले जनताप्रतिको जवाफदेहीतालाई थप कसिलो बनाउने विषय मनन गर्न पनि सांसदहरुलाई निर्देशन दिए ।

यस्तो छ रास्वपाले सांसदहरुलाई दिएको निर्देशन

१. संस्थागत समन्वय र पूर्व–सूचना :

कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ  सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुहुन। सांसदहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र पुग्ने कार्यक्रम भएमा सम्बन्धित सांसद तथा पार्टी संयन्त्रलाई सूचित तथा आवश्यक समन्वय गर्न गराउनुहुन ।

२. स्थानीय मुद्दाको प्राथमिकीकरण :

भ्रमणका क्रममा आयोजना हुने अन्तर्क्रियाहरूमा स्थानीय समितिसँग  पूर्व–छलफल गरी, त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दाहरू पहिचान गर्न । ती स्थानीय समस्याहरूलाई समाधानका लागि तत् तत् निकायसँग विधिवत् समन्वय गर्न कार्यसूचीमा प्राथमिकताका साथ समावेश गर्ने ।

३. सांगठनिक अपनत्व र जन–परिचालन :

कार्यक्रमको मोडालिटी तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी गर्न ।

४. मितव्ययिता र सुशासन :

भ्रमण र कार्यक्रमहरूलाई तडकभडक, भड्किलोपन र अनावश्यक खर्चबाट पूर्णत: मुक्त राख्दै, स्रोत–साधनको मितव्ययी उपयोग गरी सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न ।

५. नीतिगत पृष्ठपोषण प्रणाली :

निर्वाचन क्षेत्रका नागरिकमाझ जाने क्रममा प्राप्त जन–सुझाव, गुनासा र स्थानीय समितिका वस्तुगत रिपोर्टिङलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्न ।