यी हुन् बोल्न समय माग्ने, भत्ताका लागि हाजिर गर्ने र संसद् ‘बंक’ गर्ने रास्वपा सांसद्

यी हुन् बोल्न समय माग्ने, भत्ताका लागि हाजिर गर्ने र संसद् ‘बंक’ गर्ने रास्वपा सांसद्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गत ३० भदौमा प्रतिनिधिसभा बैठक चलिरहेको थियो । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् दीपककुमार साह बोलिरहेका थिए ।

केही समयअघि मात्रै मन्त्रीबाट बर्खास्त भएका साह सदनमा आफ्नो धारणा राख्दै थिए ।

त्यही बेला उनको पछाडि बसेका एक सांसदको आवाज माइकबाटै सुनियो, ‘झ्याउ लागिसक्यो, ल चिया खान जाऊँ अब, ओ ब्रदर ।’

सदनमा सांसद बोलिरहेका बेला आएको यो आवाज सभाकक्षभरि सुनियो । रास्वपाका केही सांसद उठे र चिया खान बाहिरिए ।

सभामुख डोलप्रसाद अर्यालले सांसदको यो ‘गाइजात्रा’ हेरिरहे । उनले बैठकको मर्यादाविपरीत गतिविधि गर्ने ती सांसदमाथि कुनै हस्तक्षेप गरेनन् ।

मंगलबार प्रतिनिधिसभामा अर्को दृश्य देखियो । यहाँ चियाको कुरा थिएन, बोल्ने पालोको कुरा थियो । शून्य समयमा बोल्नका लागि नाम टिपाएका सांसदको पालो आयो । सभामुखले नाम बोलाए । फेरि बोलाए र फेरि पनि बोलाए । तेस्रोपटक नाम बोलाउँदा पनि सम्बन्धित सांसद अनुपस्थित रहेपछि सभामुख अर्यालले अर्को नाम बोलाए ।

त्यसो त बोल्नका लागि समय माग्ने, नाम टिपाउने अनि आफ्नो पालो आउँदा सदनमै नभेटिने सांसदको प्रवृत्ति यो नयाँ भने होइन, मंगलबार यसले निरन्तरता मात्र पाएको हो ।

शून्य समयमा बोल्न नाम टिपाएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन सांसद आफ्नो पालोमा सभाकक्षमै उपस्थित थिएनन् ।

सभामुख डोलप्रसाद अर्यालले तीनपटकसम्म नाम बोलाउँदा पनि उनीहरूको अत्तोपत्तो भएन ।

रास्वपा सांसदहरु जगदिश खरेल (दोलखा) धर्मराज केसी र पुकार बमले शून्य समयमा बोल्न नाम टिपाएका थिए । तर, आफ्नो बोल्ने पालो आउँदा तीनै जना सभाकक्षमा थिएनन् ।

सबैभन्दा पहिला खरेलको पालो थियो । सभामुखले तीनपटकसम्म नाम बोलाउँदा पनि उनी आएनन् । त्यसपछि केसीको नाम आयो । उनको अवस्था पनि उस्तै रह्यो । केही समयपछि बमको नाम बोलाइयो । उनी पनि सभामा उपस्थित थिएनन् ।

सांसदहरूका लागि बोल्ने समय पाउन निश्चित प्रक्रिया पूरा गर्नुपर्छ । संसदीय दलमार्फत संघीय संसद् सचिवालयमा नाम टिपाउनुपर्छ । त्यसपछि सभामुखले नामअनुसार बोल्ने समय दिन्छन् ।

प्रतिनिधिसभा नियमावलीले सांसदका लागि आकस्मिक, शून्य र विशेष समयको व्यवस्था गरेको छ । आकस्मिक समयमा अघिल्लो र पछिल्लो बैठकबीच भएका गम्भीर घटना वा विषयमा सरकारको ध्यानाकर्षण गराइन्छ । शून्य समयमा निर्वाचन क्षेत्र तथा सार्वजनिक सरोकारका विषय उठाइन्छ ।

आकस्मिक समयमा दुई मिनेट र शून्य समयमा प्रत्येक सांसदलाई एक मिनेट बोल्ने समय दिइन्छ । विशेष समयमा भने सरकारका कामकारबाही र मुलुकको समग्र परिस्थितिबारे सांसदले धारणा राख्छन् ।

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका लागि विशेष समयमा समयसीमा तोकिँदैन । अन्य सांसदले सदनमा दलको उपस्थिति (संख्या) का आधारमा समय पाउँछन् ।
तर, पछिल्लो समय सांसदहरुमा बोल्न नाम टिपाएर आफ्नो अनुपस्थित हुने प्रवृत्ति बढ्न थालेको छ ।

संसद्मा बोल्ने प्रत्येक मिनेट जनताका समस्या र सार्वजनिक सरोकारका विषय उठाउने अवसर हो । यस्तै प्रश्नमार्फत सरकारलाई जवाफदेही बनाउने सांसदको नियमित ड्युटी हो ।

यसमा सांसदहरु चुक्न थालेका छन् । सत्तारुढ रास्वपाले त सांसदहरुलाई पालो नै तोकेर सांसदमा उपस्थित हुन पनि रुलिङ गरेको छ ।

पार्टीको रुलिङको बेवास्ता गरेर सांसदहरु भने आफैं बोल्न नाम टिपाउने र आफैं अनुपस्थित हुने गरिरहेका छन् ।


सांसदले समय मागेर पनि आफ्नो पालोमा अनुपस्थित हुँदा त्यो अवसर मात्र खेर जाँदैन, सदनको समयसमेत त्यसैमा खर्च हुन्छ ।

यसरी समय माग्ने तर समय दिन नआउने प्रवृत्तिले सांसदको उपस्थितिमात्र होइन, सदनप्रतिको जिम्मेवारीमाथि समेत प्रश्न उठेको छ ।
राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँल यस्तो प्रवृत्तिलाई अनुत्तरदायी र संसदको मानहानीको संज्ञा दिन्छन् ।

सरकारलाई उत्तरदायी बनाउनुपर्ने भूमिकामा रहेका सांसदहरु आफैं गैरजिम्मेवार बनेको टिप्पणी उनको छ ।

‘यो सरकारलाई उत्तरदायी बनाउने भूमिकामा रहेका सांसदहरु आफैं जनताप्रति उत्तरदायी हुन नसकेको उदाहरण हो’, फुयाँलले काठमाण्डु पाटीसँग भने, ‘अरुलाई उत्तरदायी बनाउनुपर्ने भूमिकामा रहेका सांसदले आफूलाई चाहिं उत्तरदायी बनाउनु परेन ?’

फुयाँल यस्ता सांसदको मूल्याङ्कन उनीहरुलाई मत दिएर जिताएका सम्बन्धित क्षेत्रका मतदाताले गर्नुपर्ने बताउँछन् ।

‘आमजनता र अझ सम्बन्धित क्षेत्रका जनताले यस कुरालाई गम्भीरतापूर्वक लिएर मूल्याङ्कन गर्नुपर्छ’, उनले भने ।