रास्वपा टोलीलाई सिचुवान सरकारको स्वागत, चीनमा यस्तो छ १२ दिनको कार्यक्रम

रास्वपा टोलीलाई सिचुवान सरकारको स्वागत, चीनमा यस्तो छ १२ दिनको कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु । चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई सिचुवान प्रान्तीय सरकारको परराष्ट्र मामिला कार्यालयका निर्देशकले स्वागत गरेकी छन्। नेपालसँगको सम्बन्ध र सहकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिचुवान सरकारको परराष्ट्र मामिला कार्यालयले रास्वपा टोलीलाई स्वागत गरेको हो।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको रास्वपा टोलीले नोभेम्बर १५ देखि २६ सम्म सिचुवान, चच्याङ र बेइजिङमा विभिन्न कार्यक्रम तथा भेटघाट गर्ने कार्यतालिका छ।

टोलीले प्रविधि, उद्योग, रोबोटिक्स, स्मार्ट उत्पादन, विपद्पछिको पुनर्निर्माण, कृषि, पर्यटन, लगानी र व्यापार सहकार्यमाथि अध्ययन तथा छलफल गर्नेछ। त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न तहका नेताहरू र विज्ञहरूसँग पनि भेटघाट तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ।

भ्रमणको पहिलो चरणमा टोलीले सिचुवान प्रान्तको राजधानी छेङ्दुमा उच्च प्रविधिमा आधारित उद्योग तथा औद्योगिक पार्कको अवलोकन गर्नेछ। त्यसपछि सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेनछुआन काउन्टी पुगेर पुनर्निर्माणका कामबारे जानकारी लिने कार्यक्रम छ।

प्रविधि, उद्योग, विपद्पछिको पुनर्निर्माणदेखि लगानी र व्यापार सहकार्यमाथि छलफल हुने

त्यसैगरी, चच्याङ प्रान्तमा रोबोटिक्स, स्मार्ट म्यानुफ्याक्चरिङ, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, कृषि तथा पर्यटनको एकीकृत विकास र विद्युतीय सवारी उत्पादनसम्बन्धी गतिविधिको अवलोकन गर्नेछ। भ्रमणको अन्तिम चरणमा बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ।

चीन भ्रमणको निर्धारित कार्यक्रम

नोभेम्बर १५, आइतबार : छेङ्दु, सिचुवान प्रान्त

  • साँझ ५:१५ बजे छेङ्दु आगमन र होटलमा बसोबास।
  • साँझ ६ बजे सामूहिक रात्रिभोज।

सन्दर्भ : सन् २०२५ मा सिचुवानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १.१७ ट्रिलियन अमेरिकी डलर र जनसङ्ख्या ९ करोडभन्दा बढी रहेको उल्लेख छ।

नोभेम्बर १६, सोमबार : प्रविधि, उद्योग र राजनीतिक नेतृत्वसँग संवाद

  • बिहान : उच्च प्रविधिमा आधारित उद्योग तथा औद्योगिक पार्कहरूको अवलोकन।
  • दिउँसो : चिनियाँ कम्युनिस्ट पार्टीको पार्टी स्कुलका विज्ञहरूसँग विचार तथा अनुभव आदानप्रदान।
  • साँझ : सिचुवान प्रान्तीय पार्टी कमिटीका सचिवसँग भेटघाट तथा रात्रिभोज।

नोभेम्बर १७, मंगलबार : विपद्पछिको पुनर्निर्माण

  • दिनभरि : सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेनछुआन काउन्टीको भ्रमण तथा पुनर्निर्माण कार्यको अवलोकन।

सन्दर्भ : उक्त भूकम्पमा करिब ७० हजार जनाको मृत्यु, १७ हजारभन्दा बढी बेपत्ता र ठूलो आर्थिक क्षति भएको थियो।

नोभेम्बर १८, बुधबार : अनुसन्धान, शिक्षा र पुनर्निर्माण व्यवस्थापन

  • बिहान : छेङ्दुस्थित जायन्ट पाण्डा प्रजनन अनुसन्धान केन्द्रको भ्रमण।
  • दिउँसो : सिचुवान विश्वविद्यालयको विपद्पछिको पुनर्निर्माण व्यवस्थापन संकायसँग छलफल।
  • साँझ : छेङ्दु सहरको अवलोकन।

नोभेम्बर १९, बिहीबार : हाङझाउ, चच्याङ प्रान्त

  • दिउँसो : चच्याङ प्रान्तको राजधानी हाङझाउ प्रस्थान।
  • हाङझाउ सहरको अवलोकन।

सन्दर्भ : सन् २०२५ मा चच्याङको जीडीपी १.४३ ट्रिलियन अमेरिकी डलर र जनसङ्ख्या ६ करोड ७० लाख रहेको उल्लेख छ। निजी उद्यम विकासमा यो चीनकै अग्रणी प्रान्तमध्ये एक हो।

नोभेम्बर २०, शुक्रबार : रोबोटिक्स र स्मार्ट उत्पादन

  • बिहान : रोबोटिक्स प्रविधिमा काम गर्ने औद्योगिक कम्पनीको भ्रमण।
  • दिउँसो : औद्योगिक पार्क तथा स्मार्ट म्यानुफ्याक्चरिङ केन्द्रहरूको अवलोकन।

नोभेम्बर २१, शनिबार : यिउ अन्तर्राष्ट्रिय व्यापार केन्द्र र स्थानीय शासन

  • बिहान : उच्चगतिको रेलमार्फत यिउ प्रस्थान तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको भ्रमण।
  • दिउँसोअघि : यिउ नगर पार्टी कमिटीका सचिवसँग कार्यमूलक दिवाभोज।
  • दिउँसो : ग्रामीण शासन प्रणाली तथा स्थानीय तहमा पार्टी सङ्गठन निर्माणका अभ्यासको अवलोकन।
  • त्यसपछि बसमार्फत चिन्ह्वा नगरतर्फ प्रस्थान।

नोभेम्बर २२, आइतबार : अनुसन्धान, कृषि, पर्यटन र विद्युतीय सवारी

  • बिहान : चच्याङ नर्मल विश्वविद्यालयको भ्रमण तथा थिङ्क ट्याङ्क विकासको अवलोकन।
  • दिउँसोअघि : कृषि, संस्कृति र पर्यटनको एकीकृत विकासको नमुना अध्ययन गर्न अन्तर्राष्ट्रिय कृषि फार्मको भ्रमण।
  • दिउँसो : नयाँ ऊर्जा सवारीसाधन उत्पादक कम्पनी लिपमोटर (Leapmotor) को भ्रमण।
  • साँझ : स्थानीय सांस्कृतिक तथा नाट्य प्रस्तुति अवलोकन।

नोभेम्बर २३, सोमबार : नेपाल–चीन लगानी तथा व्यापार सहकार्य

  • बिहान : नेपाल–चीन उद्यमी व्यावसायिक सहकार्य सम्मेलनमा सहभागिता। चिन्ह्वा नगरका मेयर तथा २० भन्दा बढी स्थानीय उद्यमीसँग अन्तरक्रिया।
  • दिउँसोअघि : नगरका मेयरसँग दिवाभोज।
  • दिउँसो : नेपाल–चीन लगानी सहकार्य परियोजनाका रूपमा रहेको होङ्शी सिमेन्ट उद्योगको भ्रमण तथा चिन्ह्वा अन्तर्राष्ट्रिय विद्यालयको अवलोकन।
  • साँझ : चिन्ह्वा नगर पार्टी कमिटीका सचिवसँग भेटघाट तथा रात्रिभोज।

नोभेम्बर २४, मंगलबार : बेइजिङ

  • बेइजिङ प्रस्थान।
  • चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वसँग भेटघाट।
  • चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्रीसँग भेटघाट तथा रात्रिभोज।
  • चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास सङ्ग्रहालयको भ्रमण।
  • केन्द्रीय पार्टी स्कुलका विज्ञहरूसँग विचार तथा अनुभव आदानप्रदान।

नोभेम्बर २५, बुधबार : बेइजिङ

  • चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वसँग निर्धारित भेटघाट तथा छलफल।
  • पार्टी इतिहास सङ्ग्रहालयको भ्रमण।
  • केन्द्रीय पार्टी स्कुलका विज्ञहरूसँग अन्तरक्रिया।

नोभेम्बर २६, बिहीबार : स्वदेश फिर्ती

  • दिउँसो : बेइजिङबाट काठमाण्डु प्रस्थान।

को–को छन् भ्रमण टोलीमा ?

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबार चीन भ्रमणमा गएको हो। पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन गएको हो।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा छन्।

त्यस्तै सांसदहरू डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि छन्।

चीन भ्रमणमा जाने टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका थिए।