दाइजो र बालविवाहविरुद्ध निरन्तर लड्छु : उपसभामुख ठाकुर

दाइजो र बालविवाहविरुद्ध निरन्तर लड्छु : उपसभामुख ठाकुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – उपसभामुख रुवीकुमारी ठाकुरले मधेशमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आईतबार आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेशबाट मात्र नभई देशबाट उन्मूलन हुनुपर्ने बताइन् । छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको भन्दै उनले मधेशले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने बताइन् ।

‘छोरी जन्मिने घरमा बोझ भित्रिएको भन्दै दु:ख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मिनु त सौभाग्यको कुरा हो,’ उपसभामुख ठाकुरले भनिन् । बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन ल्याउने उनको भनाइ थियो ।

पछिल्लो समय किशोरकिशोरीले घर छाडेर हिँड्ने गरेको कुरातर्फ संकेत गर्दै उनले अभिभावकको सरसल्लाहलाई गलत सोचेर विद्रोह नगर्न सुझाव दिइन् ।

सर्लाही–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले दाइजो र बालविवाह प्रथा लामो समयदेखि मधेशमा नबदलिएको बताइन् । उनले समाजमा व्याप्त यस्ता कुरीति र कुसंस्कार शिक्षाको उज्यालो ज्योतिले मात्र हटाउन सक्ने भन्दै उनले छोरीहरूलाई पढाउन आग्रह गरिन् ।

कार्यक्रममा मधेश प्रदेशअन्तर्गत विभिन्न पालिकाका उपाध्यक्ष र उपप्रमुखहरूको सहभागिता थियो । सो अवसरमा छोरीलाई १२ कक्षा पढाएर २० वर्ष पारी विवाह गर्ने अभिभावक, बुहारीलाई स्नातक पढाउने अभिभावक र बिना दाइजो विवाह गर्ने जोडीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

चन्द्रनगर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि २० वर्ष पार गरी विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद ५० हजारसहित सम्मान र १२ कक्षासम्म पढ्ने छोरीहरूलाई पठनपाठमा प्रोत्साहन गर्ने उद्देश्यसहित एकमुष्ट नगद ११ हजार दिँदै आएको छ ।