रुपन्देहीमा कार्यरत इन्सपेक्टर घिमिरेको २८ दिनमै सरुवा


काठमाण्डु – रुपन्देहीका एक प्रहरी निरीक्षक (इन्सपेक्टर) हाजिर भएको २८ दिनमै सरुवा भएका छन् । वडा प्रहरी कार्यालय सिद्धार्थनगरमा कार्यरत इन्सपेक्टरको हाजिर भएको छोटो समयमै सरुवा भएको हो । सामान्यतया एक वर्ष नपुगी सरुवा नगर्ने प्रचलन रहेतापनि इन्सपेक्टर कृष्ण प्रसाद घिमिरे भने २८ दिनमै सरुवा भएका हुन् ।

गत वैशाख १० गते वडा प्रहरी कार्यालयमा हाजिर भएका कृष्णप्रसाद घिमिरेको जेठ ६ गते प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको थियो । आफ्नो वडा मातहतका ठाउँमा नदीजन्य सामग्रीको अवैध उत्खनन् भएपछि उनले कडाइका साथ रोक लगाएका थिए । अवैध उत्खनन्मा प्रयोग भएका ट्रयाक्टर, टिपरलगायतलाई उनले नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएका थिए । अवैध उत्खनन् गर्ने सवारीलगायतबाट २८ दिनमै ६ लाख राजस्व समेत उठेको थियो।

अवैध उत्खननलाई कडाइका साथ रोकेका उनै घिमिरेको २८ दिनमै सरुवा भएको छ । यसबारे प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले आवश्यकताअनुसार प्रदेश प्रहरी कार्यालयले सरुवा गरिएको हुनसक्ने बताए । ‘अवस्था र परिस्तिथि हेरेर सरुवा गरिएको हुनसक्छ । किन सरुवा भयो भन्न भनेर मैले भन्न सक्ने अवस्था छैन,’ उनले काठमाण्डुपाटीसँग भने । यद्यपी उनले यसबारेमा अन्य केही बताउँन चाहेनन् ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता एसपी राजेन्द्रसिंह खड्काले यसविषयमा आफुलाई केही थाहा नभएको बताए । डीआईजी रवीन्द्र धानुकलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन । यसबारे रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले भने इन्सपेक्टर सरुवाको अधिकार आफूलाई नभएकाले कारण यही हो भन्न नसक्ने बताए । इन्सपेक्टर घिमिरेलाई त्यहाँबाट सरुवा गराएर प्रदेश प्रहरी कार्यालय लुम्बिनी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement