काठमाण्डु- रुस–युक्रेन युद्ध अन्त्य तथा शान्ति वार्ताका लागि साउदी अरबले पहल गर्ने भएको छ । यसका लागि वरिष्ठ अमेरिकी अधिकारीहरू रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न साउदी अरब जाने भएका छन् ।
यसअघि इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच गाजा युद्धविरामको लागि पनि साउदी अरबले मध्यस्थता गरेको थियो ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज, विदेशमन्त्री मार्को रुबियो र मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफ वरिष्ठ रूसी अधिकारीहरूसँगको बैठकका लागि साउदी अरेबिया जाने तयारी गरेका छन् ।
क्रेमलिनले वासिङ्टनसँग प्रत्यक्ष वार्तामा संलग्न हुन उच्च–स्तरीय वार्ता टोली गठन गरेको समाचार यसअघि पनि आएको थियो । टोलीमा उच्चस्तरीय राजनीतिक नेतृत्व, गुप्तचर र आर्थिक व्यक्तित्वहरू सहभागी हुने देखिन्छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको सुरुमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सकारात्मक फोन संवादपछि लगभग तीन वर्षदेखि चलिरहेको युक्रेन युद्ध अन्त्य गर्न वार्ता तुरुन्तै सुरु हुने बताएका थिए । ट्रम्पले गत महिना पदभार ग्रहण गरेपछि अमेरिका प्रत्यक्ष रुपमा संलग्न भएका धेरै युद्धहरू समाप्त गर्ने दाबी गरेका थिए । सोही अनुसार ट्रम्पले युक्रेन द्वन्द्वलाई छिटो अन्त्य गर्न चाहेको स्पष्ट पार्दै आएका थिए ।
राष्ट्रपति ट्रम्पले शान्ति वार्तामा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले भूमिका निर्वाह गर्ने पनि संकेत गरेका छन् ।
रूसी विदेश मन्त्रालयले पनि ‘युक्रेन वरपरको अवस्थाको समाधान सहित वर्तमान अन्तर्राष्ट्रिय मुद्दाहरूमा सहयोग गर्ने पारस्परिक प्रतिबद्धता’ बारे चर्चा भएको बताएको छ । संवादमा दुवैले नियमित सम्पर्क कायम राख्न सहमति जनाएका छन् ।
यता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताएका छन् ।
रुससँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी उपराष्ट्रपति भान्ससमेत सहभागी म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीले तीन वर्षे युक्रेन युद्धलाई समाप्त गर्ने प्रयासमा किनारा नलगाइयोस् भनेर सुनिश्चित गर्न आवश्यकता रहेको बताएका हुन् ।
समाचार संस्था सिएनएनका अनुसार अमेरिकामा सरकार परिवर्तन भएसँगै आएको नीतिगत परिवर्तनले युक्रेनले अब पनि रुसको सामना गर्न सक्छ भन्ने कुरामा प्रश्न उठेको छ ।
प्रतिक्रिया