चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको अवस्थाबारे अध्ययन गर्न विज्ञ टोली गठन


काठमाण्डु – गैंडाको मृत्यु दर घटाउन र चितवन राष्ट्रिय निकुञ्जबाट गैरकानूनी तरिकारले हुने अङ्ग–प्रत्यङ्गको ओसार–पसार तथा खरीदबिक्रीलाई अन्त्य गर्न वन तथा वातावरण मन्त्रालयले समिति गठन गरेको छ । सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवको निर्देशनमा निकुञ्जमा गैंडाको अवस्थाको बारेमा विस्तृत अध्ययन गर्दै यस्ता समस्याहरुलाई अन्त्य गर्न सोमबार विज्ञहरुको टोली गठन गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा गठन गरिएको टोलीमा सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी मिलनध्वज खांड, नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक विरेन्द्र जोहारी, विज्ञ डा.शान्त राज ज्ञवाली, र राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागकै सदस्य सचिव इकोलोजिस्ट डा.गणेश पन्त रहेका छन् ।

गठन गरिएको टोलीले चितवनमा गैंडाहरुको हालको अवस्था, संरक्षणका लागि चलिरहेका विभिन्न कार्यक्रमहरुको प्रभावकारिता, गैडा संरक्षणमा भइरहेका चुनौती र भविष्यमा यसलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययन गर्नेछ । विज्ञ टोली १५ दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमै बसेर अध्ययन गर्ने वन मन्त्रालयले जनाएको छ ।

गैंडाहरु राष्ट्रिय निकुञ्जका प्रमुख जनावर भएको र पछिल्लो समय उनीहरुको मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्ति गर्दै मन्त्री यादवले गैंडाहरुको संरक्षणका लागि भावी योजना बनाउनका निमित्त विज्ञ टोली गठन गरिएको जानकारी दिए ।

मन्त्री यादवले गैंडाको संरक्षणका लागि आफू गम्भीर रहेको मातहतका निकायहरुलाई पनि यसमा गम्भीरताका साथ काम गर्न निर्देशन दिए । वन तथा वातावरण मन्त्रलायको तथ्याङ्कका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा हाल ६ सय ९४ वटा गैंडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement