भारतीय विदेशमन्त्री पर्सि काठमाण्डु आउँदै, ऊर्जा खरिद सम्झौतामा हस्ताक्षर हुने


काठमाण्डु – भारतीय विदेशमन्त्री एस जयशंकर २ दिने नेपाल भ्रमणका लागि पर्सि बिहीबार काठमाण्डु आउँदैछन् ।

उनी नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन नेपाल आउन लागेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठक काठमाण्डुमा बस्दैछ ।

नेपाल भ्रमणका बेला भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने भारतको नेतृत्व जयशंकरले गर्नेछन् ।

मन्त्री जयशंकरको नेपाल भ्रमणका बेला नेपाल र भारतबीच २ वटा सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । दीर्घकालीन ऊर्जा खरिद सम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रकम बढाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।

नेपाल र भारतबीच स्थापना गरिएका संयन्त्रमध्ये सबैभन्दा महत्त्वपूर्ण परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोग मानिन्छ । संयुक्त आयोगको बैठकमा नेपाल–भारतबीचका सम्पूर्ण आयाममा छलफल गरिने जनाइएको छ ।

सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक भारतको नयाँदिल्लीमा सन् २०२१ जनवरीको दोस्रो हप्ता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने अभ्यास छ ।

परराष्ट्रमन्त्री साउदले मंगलबार पूर्व परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूसँग छलफल गरेका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारीका शिलशिलामा साउदले छलफल गरेका छन् । छलफलका क्रममा पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement