नेपालको राजनीतिमा भारत तानिएपनि वास्ता गर्नुहुँदैन : भारतीय विदेशमन्त्री जयशंकर

नेपालको राजनीतिमा भारत तानिएपनि वास्ता गर्नुहुँदैन : भारतीय विदेशमन्त्री जयशंकर


काठमाण्डु- भारतका विदेशमन्त्री एस जयशंकरले भारतले आफ्ना छिमेकी देशहरूसँग सधै राम्रो र सहज सम्बन्धको अपेक्षा गर्न नहुने बताएका छन् ।

भारतको सरकारी टेलिभिजन डीडीलाई दिएको अन्तर्वार्तामा जयशंकरले भारतले छिमेकी देशहरूसँगको सम्बन्धमा सधैं सहज र समस्यामुक्त अवस्थामा रहोस् भन्ने अपेक्षा गर्न नहुने बताएका हुन् ।

भारतले बनाएको नीतिले अरु देशमा सरकार परिवर्तन भए पनि सम्बन्ध राम्रो रहने बताउँदै उनले नयाँ दिल्लीले पनि छिमेकमा कुनै सरकार परिर्वतन भए त्यसबाट चिन्तित हुनु नपर्ने बताएका हुन् ।

विगत ११ वर्षमा मोदी सरकारले छिमेकी देशहरूसँग भारतको सम्बन्धलाई सुदृढ पार्न विशेष ध्यान दिएको उनले जिकिर गरेका छन् ।

जयशंकरले भारत एउटा संस्कृति, प्रणाली र साझा हित निर्माण गर्ने प्रयासमा रहेको र छिमेक देशहरूमा अस्थिरता भए पनि साझा हित बलियो रहोस् भन्ने भारतको चाहना रहेको अन्तर्वार्तामा बताएका छन् ।

अन्तर्वार्तामा जयशंकरले नेपालको सन्दर्भमा पनि चर्चा गरेका छन् । नेपालको आन्तरिक राजनीतिमा भारत पटक पटक तानिँदै आएको उल्लेख गर्दै जशंकरले भारतले यसको वास्ता गर्न नहुने उल्लेख गरेका हुन् ।

‘हामी प्रायः उनीहरूको आन्तरिक राजनीतिमा तानिन्छौँ । हामीले सधैँ सहज सम्बन्धको अपेक्षा गर्नुहुँदैन, त्यो कुनै पनि देशका छिमेकीसँग कहिल्यै स्थायी हुँदैन’, उनले भनेका छन् ।

‘तर, जब परिस्थिति गाह्रो हुन्छ, तब हात उठाउनु हुँदैन । त्यो त खराब योजना हो,’ उनले भनेका छन् । जयशंकरले नयाँ दिल्लीले सजग निर्णय गरिरहेको उल्लेख गर्दै भने, ‘हामीले प्रणाली बनाउँदैछौँ, साझा हित निर्माण गर्दैछौँ, ताकि छिमेकमा जुनसुकै सरकार आए पनि सम्बन्धमा अन्तर्निहित स्थायित्व रहोस् ।’

‘श्रीलंकामा सरकार परिवर्तन भयो तर भारतसँगको सम्बन्ध राम्रो छ । सुरुमा माल्दिभ्ससँग केही समस्या थियो तर अहिले सम्बन्धमा सुधार आएको छ । भारतलाई प्रायः नेपालको राजनीतिमा तानिन्छ, तर हामीले त्यसबाट वास्ता गर्नु हुँदैन’, अन्तर्वार्तामा उनले भने ।

जयशंकरले छिमेकी देशहरूसँगको सम्बन्धमा उतारचढाव आए पनि भारतले बुद्धिमानीपूर्वक काम गर्नुपर्ने धारणा राखेका छन् ।

यस्तै उनले भारतका छिमेकी देशहरुले भारतसँग मिलेर काम गर्नु उनीहरूको लागि फाइदाजनक रहेको पनि जनाएका छन् ।

पाकिस्तानसँग भारतको सम्बन्ध एक अपवाद भएको उल्लेख गर्दै जयशंकरले पाकिस्तानको पहिचान सेनाको वरिपरि बनेको र यो सुरुदेखि नै भारतप्रति शत्रुताले भरिएको उल्लेख गरे । साथै विगतका सरकारहरूको नीति पाकिस्तानप्रति नरम रहेको तर मोदी सरकारले त्यसलाई परिवर्तन गरेको पनि उनले जिकिर गरेका छन् ।