काठमाण्डु– भारतीय विदेशमन्त्री एस. जयशंकरले प्राकृतिक विपत्तिमा भारतले तत्काल सहयोग उपलब्ध गराउँदै आएको उदाहरणका रूपमा नेपाल र भेनेजुएलाको घटनालाई प्रस्तुत गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई शनिबार सम्बोधन गर्दै उनले नेपालमा आएको आकस्मिक बाढी तथा भेनेजुएलामा गएको भूकम्पमा भारतले प्रारम्भिक उद्धार तथा सहयोग गरेको बताएका छन्।
जयशंकरले भारतले द्वन्द्वग्रस्त क्षेत्र, महामारी प्रभावित क्षेत्र तथा प्राकृतिक विपत्तिबाट प्रभावित स्थानमा चिकित्सकीय सामग्रीसहित आवश्यक सहयोग उपलब्ध गराउँदै आएको बताए।
उनले शान्ति स्थापनालाई द्वन्द्व र संकटमा परेका देशलाई सहयोग गर्ने भारतको व्यापक प्रयासको एउटा हिस्सा भएको बताए।
भारतका विभिन्न कार्यक्रममार्फत खाद्यान्न, औषधि, ऊर्जा र मलको अभाव सम्बोधन गर्न सहयोग गरिएको तथा अन्य देशमा कृत्रिम अंग जडानसम्बन्धी शिविरसमेत सञ्चालन गरिएको उनले बताए।
सम्बोधनका क्रममा जयशंकरले भारतका सैन्य टोली राष्ट्रसंघका ११ मध्ये ९ वटा शान्ति स्थापनासम्बन्धी म्यान्डेटअन्तर्गत कार्यरत रहेको जानकारी दिए।
‘अहिले हाम्रा टोलीहरू ११ मध्ये ९ वटा म्यान्डेटअन्तर्गत उपस्थित छन्’ उनले भने। दबाबपूर्ण परिस्थितिमा समेत भारतीय सैनिकहरूले दृढता र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ थियो।




प्रतिक्रिया