त्रिशूलीमा अहिलेसम्म १२ शव भेटिए, सात जनाको मात्रै सनाखत (नामसहित)

त्रिशूलीमा अहिलेसम्म १२ शव भेटिए, सात जनाको मात्रै सनाखत (नामसहित)


काठमाण्डु – नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १२ जनाको शव भेटिएको छ । भेटिएका १२ शवमध्ये सात वटा शवको सनाखत भएको छ । तर, बस भने अझै फेला परेका छैनन्।

सनाखत भएका सात शवमा तीन वटा भारतीय नागरिक रहेका खुलेको छ । अरू मृतक नेपाली नागरिक हुन्। जसअनुसार सनाखत हुनेमा भारत सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार बेतिया बस्ने ३० वर्षीय सजाद अन्सारी रहेका छन् ।

त्यसैगरी सर्लाहीको बरहथवा ३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी १ बस्ने २२ वर्षीय विकाश परियार, चितवन भरतपुर २२ बस्ने २३ वर्षीय सुदीप विक र रौतहट जमुनामाई ४ बस्ने १७ वर्षीय राहुम मियाको शवको सनाखत भएको छ ।

अन्य यात्रु तथा दुवै बसको खोजी कार्य आज पनि भइरहेको छ । केही शव नारायणी नदीमा बगेर भारत पुगेको आशङ्का गरिएको छ । काठमाण्डुबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाण्डुतर्फ आउँदै गरेका दुई बस शुक्रबार सबेरै पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए। ती बसमा कम्तीमा ६५ जना चढेको बताइएको छ।