नेपालको बाढीमा बगेका शव भारतीय क्षेत्रमा पुगे, गण्डक नदीमा ३ शव फेला

नेपालको बाढीमा बगेका शव भारतीय क्षेत्रमा पुगे, गण्डक नदीमा ३ शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – नेपालमा आएको भीषण बाढीको असर भारतीय क्षेत्रमा समेत देखिन थालेको छ ।

बाढीको पानीसँगै नेपालबाट शवहरू भारतीय क्षेत्रमा बगेर आउन थालेका छन् । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार बिहीबार निचलौलको टेलफाल नजिकै गण्डक नदीमा ३ वटा शव तैरिरहेको अवस्थामा फेला परेका छन् ।

सशस्त्र सीमा बल (एसएसबी), राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र निचलौल प्रहरीको टोली घटनास्थलमा पुगेर ३ वटै शव नदीबाट बाहिर निकालेर सुरक्षित राखेको छ ।

फेला परेका शवमध्ये २ महिला र १ पुरुषको रहेको जनाइएको छ । ३ वटै शव नेपालमा आएको बाढीको पानीमा बगेर भारतीय क्षेत्रमा पुगेको प्रारम्भिक जानकारी छ । शवको पहिचान हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सुरक्षा टोलीले नदी तथा आसपासका क्षेत्रमा निरन्तर निगरानी गरिरहेका छन् । बाढीको पानीसँगै थप शव वा अन्य सामग्री बगेर आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै भारतीय क्षेत्रमा नदीको निगरानी बढाइएको छ ।

बिहीबार बिहान महराजगञ्जका जिल्ला अधिकारी गौरव सिंह सोगरवाल र प्रहरी अधीक्षक शक्ति मोहन अवस्थीले समेत घटनास्थलको निरीक्षण गरेका छन् । उनीहरूले सुरक्षा निकाय तथा प्रहरीकर्मीलाई उच्च सतर्कता अपनाउन र नदीको जलस्तर तथा बहावमा निरन्तर निगरानी राख्न निर्देशन दिएका छन् ।

नेपालमा बाढीको अवस्था गम्भीर बन्दै गएपछि भारतीय क्षेत्रमा समेत नदीको निगरानी थप कडा पारिएको दैनिक जागरणले जनाएको छ ।