सभामुखमा नेम्वाङको सम्भावना, उपसभामुखले राजीनामा दिने


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नयाँ सभामुखबारे सहमति जुटाउन सकेको छैन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलबाट सभामुख कसलाई बनाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले सुवास नेम्वाङलाई नै सभामुख बनाउने भनेपछि ओली र प्रचण्डबीच सहमति हुन नसकेको हो ।

पूर्वमाओवादी खेमाबाट सभामुख बन्नुपर्ने भन्दै प्रचण्डमाथि दबाब सिर्जना भएको छ । पूर्वमाओवादीका शीर्ष नेताहरुले सभामुख आफूहरुले पाउनुपर्ने माग गरेका छन् ।

पुनःस्थापित प्रतिनिधिसभा, अन्तरिम व्यवस्थापिका, दुवै संविधानसभा र संविधान बनेपछिको रुपान्तरित संसद्‍ नेम्वाङ सभामुख थिए । पार्टी र सरकारको स्पिरिट समात्न सक्ने, कानुन र संविधानका जानकार तथा अनुभवका कारण उनी नै सभामुख बन्ने सम्भावना रहेको नेकपाका नेता बताउँछन् ।

महराको राजीनामालगत्तै आफू सभामुखमा इच्छुक नभएको सार्वजनिक अभिव्यक्ति दिएपछि पार्टीका अध्यक्षद्वयले सभामुखबारे नबोल्न निर्देशन दिएको नेम्वाङ बताउँछन् ।

यसअघि पूर्वमाओवादीको कोटाबाट कृष्णबहादुर महरा सभामुख बनेकाले यसपटक पनि पूर्वमाओवादीकै कोटाबाट सभामुख बन्नुपर्ने उनीहरूको भनाइ छ । सभामुखमा पूर्वमाओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालको नाम चर्चामा छ ।

उपसभामुख तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गरिरहेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहना पनि तुम्बाहाङ्फेलाई सभामुख बनाउने छ । उपत्यका बाहिर रहेका अध्यक्ष प्रचण्ड बिहीबार काठमाडौं फर्केपछि सभामुखको उम्मेदवार टुंगो लाग्ने नेताहरू बताउँछन् ।

उपसभामुखको राजीनामाः

त्यसैगरी उपभासभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छिन् । सभामुखमा दाबी गर्दै आइरहेकी तुम्वाहाङ्फेले राजीनामा दिएर सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने राजीनामा दिने तयारी गरेकी छन् ।

नेकपाले सभामुख पद लिनका लागि उपसभामुखलाई राजीनामा दिन लगाउने स्रोतले बतायो । उनकाे राजीनामा शुक्रबारसम्म आउने स्रोतले बतायो ।

उपसभामुखले आजै राजीनामा दिने बताइए पनि उनले शुक्रबारसम्म राजीनामा दिने तयारी गरेकी छन् । संसद सचिवालयले पुस १४ गते सभामुखको निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको छ । उपसभामुखबारे पनि निर्णय हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement