काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन् । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भएको बताएका हुन् ।
सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न अलि सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाउनुभएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने “तर संसद् कमजोर भएको महसुस मैले गरेको छैन ।”
अर्यालले संसद्को आफ्नो मर्यादा र गर्नुपर्ने काम आफ्नो कार्यशैलीअनुसार नै सञ्चालन हुने बताए । “तीन करोड नेपालीका लागि काम गर्ने भनेर आएका तपाईँहामी निरन्तर खटिरहेका छौँ”, उनले भने ।
सभामुख अर्यालले व्यवस्थापिकाका सांसद, नागरिक, पत्रकारलगायतले कार्यपालिकालाई झकझक्याउने जिम्मेवारी रहेको बताए ।
उनले आगामी संसद्को अधिवेशन राष्ट्रियसभा र प्रतिनिधिसभा नयाँ भवनबाट सञ्चालन हुने विश्वास व्यक्त गरे ।
यस्तै सभामुख अर्यालले आफू नेतृत्वको भ्रमण टोली तान्जानियामा हुने अन्तर व्यवस्थापकीय संघ (आईपीयू)को १५३ औं महासभा भाग दिन जाने पनि पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
उक्त मञ्चमा जलवायु परिवर्तनले पारेको असर र क्षतिपूर्तिसम्बन्धी विषयलाई ‘इमर्जेन्सी एजेन्डा’का रूपमा पेस गर्न लागिएको सभामुख अर्यालले जानकारी दिए ।




प्रतिक्रिया