काठमाण्डु – युवा विज्ञ सबिन लामिछाने राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।
युवा सशक्तिकरण तथा नेतृत्व विकासका मार्फतबाट समग्र नेपालको युवा समुदायको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले नगदसहित लामिछानेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मान गरेको हो ।
बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले लामिछानेसहित अन्य विभिन्न विद्याका ८ जना युवालाई नगद १ लाखसहित पुरस्कार वितरण गरे ।
विगत १ दशकदेखि युवाका समग्र विकास र युवासँग सम्बन्धित विषयमा क्रियाशील चाँगुनारायण नगरपालिका–७ भक्तपुर निवासी लामिछानेले युवा सशक्तीकरण, युवा सहभागिता, युवा उद्यमशिलता, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा शान्ति निर्माणको क्षेत्रमा कार्य गर्दै आएका छन् ।
उनले युवा संस्था, स्थानीय सरकार, शैक्षिक संस्था, राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा संयुक्त राष्ट्रसंघमा आवद्ध रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली युवाहरूको विकासको क्षेत्रमा काम गर्दै आएका छन् । लामिछाने हाल संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमा राष्ट्रिय युवा विज्ञको रूपमा आवद्ध छन् ।
लामिछाने सन् २०२१ मा स्वीस सरकार, जेनेभा सुरक्षा नीति केन्द्र तथा संयुक्त राष्ट्रसंघ तालिम तथा अनुसन्धान संस्थानको ‘वरिष्ठ शान्ति निर्माण तालिम’मा विश्वभरबाट चुनिएका २२ विज्ञहरूमध्येमा एकमात्र युवा नागरिक समाज प्रतिनिधिका रूपमा लामिछाने चुनिएका थिए ।
युवाको विकासमा योगदान पुर्याएबापत लामिछाने स्वीडेन सरकारद्वारा प्रदान गरिने एसआई एडभोकेसी ल्याब २०२२ का लागि विश्वभरका ३५ प्रभावशाली युवा अभियान्ताका रूपमा सम्मानित भएका थिए ।
प्रतिक्रिया