सचिवमाथि सचिव, ६ मन्त्रालयमा २–२ सचिव


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको किचलो भएको महिनौं भइसक्यो। प्रधानमन्त्री कार्यालय तानिएकी सचिव डा. पुष्पा चौधरी अदालत गुहार्न पुगिन्। उनको थमौती भयो। त्यसपछि मन्त्रालयमा दुई जना सचिव राख्ने व्यवस्था गरियो। अर्का सचिव केदारबहादुर अधिकारी मन्त्रालय पुगे।

तर दुई जना सचिवले मिलेर काम गर्न सकेनन्। अधिकारीको सरुवा भयो। त्यसयता चन्द्रकुमार घिमिरेलाई उक्त मन्त्रालयमा सरुवा गरिएको छ। तर उनी कार्यभार सम्हाल्न पुगेका छैनन् । यो समस्याबाट ग्रस्त मन्त्रालय स्वास्थ्य मात्रै होइन। सरकारले मन्त्रालयको संख्या ३१ बाट घटाएर २१ बनायो। तर सचिवको दरबन्दी घटाउन सकेन। अहिले ५६ जना सचिव छन्।

त्यसैले एउटै मन्त्रालयमा दुई जना सचिव राख्ने व्यवस्था गरियो। अहिले ६ वटा मन्त्रालयमा दुई जना सचिव छन्। तर दुई सचिव राख्दा मन्त्रालयमा कार्य सम्पादनमै असर पुगेको छ। काम, कर्तव्य र अधिकारमा द्वन्द्व सिर्जना भएको छ। एउटै ओहोदामा दुई व्यक्ति भएपछि हानथाप बढेको छ। एउटाले पूर्ण जिम्मेवारी पाउँदा अर्को सचिव जिम्मेवारविहीन हुने अवस्था छ। तल्लो तहका कर्मचारीले कसको निर्देशन र निर्णय मान्ने भन्ने समस्या पनि छ।

अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयमा दुई÷दुई जना सचिव छन्। अझै केही मन्त्रालयमा दुई सचिव राख्ने चर्चा छ। कर्मचारीमा अधिकार प्रत्यायोजन गर्न नचाहने, सामूहिक प्रयासमा विश्वास नगर्ने संस्कृति पनि छ। त्यसैले दुई जना सचिव हुनेबित्तिकै अख्तियारवाला को भन्नेमा विवाद हुने गरेको छ। मन्त्रीले समेत एउटा च्याप्ने र अर्को वास्ता नगर्ने परिपाटी छ।

दुई सचिव हुँदा काम गर्ने वातावरण नै नबन्ने उनीहरू बताउँछन्। एक सचिवले नाम नबताउने सर्तमा भने, ‘कुनै पनि निर्णय कसले गर्ने भन्नेमै समस्या हुन्छ।’ यसअघि मुख्यसचिव डा। भोजराज घिमिरे हुँदा दुई सचिव राख्ने व्यवस्था गरिएको थियो। घिमिरे २०६३ साउन १९ गतेदेखि २०६६ साउन २१ सम्म मुख्य सचिव भएका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement