काठमाण्डु– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।
गए राति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन रोकिएका छन् ।
प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
नेपाल प्रहरीको मंगलबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।
बाढीका कारण भोजपुरको मध्यपहाडी लोकमार्गस्थित बोखिम क्षेत्र तथा इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा पहिरोका कारण अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा आएको छ।
काभ्रेपलाञ्चोकको बीपी राजमार्गको नेपालथोक–कटुन्जे सडकखण्डमा जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। यस्तै मकवानपुरको कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाण्डु जोड्ने सडकखण्ड मर्मतका लागि करिब एक महिनासम्म पूर्ण रूपमा बन्द रहने प्रहरीले जानकारी दिएको छ।
कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाण्डु सडकखण्ड मर्मत कार्यका लागि पूर्ण रूपमा बन्द गरिएको छ। मर्मत हुने खण्ड करिब एक महिनासम्म बन्द रहने जनाइएको छ।
रसुवाको नेपाल–चीन जोड्ने मितेरी पुल क्षेत्रमा मर्मत कार्यका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। यस्तै मकवानपुरको कान्तिलोकपथमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
यस्तै ललितपुरको भट्टेडाँडा–हेटौंडा सडकखण्डमा अविरल वर्षाका कारण पूर्ण रूपमा अवरोध भएको छ।





प्रतिक्रिया