नारायणघाट-बुटवल र हेटौँडा-काठमाण्डु सडक अवरुद्ध

नारायणघाट-बुटवल र हेटौँडा-काठमाण्डु सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने र कान्ति लोकपथको हेटौँडा–काठमाण्डु सडक अवरुद्ध भएका छन् ।

नारायणघाट–बुटबल सडक विस्तारको क्रममा रहेकाले यो सडकको नवलपरासी दाउन्ने क्षेत्रमा बाटो चिप्लो हुँदा गाडी रोकिएका छन् ।

वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु र गाडीलाई सकेसम्म वैकल्पिक सडकबाट यात्रा गर्न आग्रह गरिएको उनले बताए । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिएको छ । दाउन्नेमा यतिबेला गाडीको लामो लाइन छ ।

यस्तै हेटौँडा–काठमाण्डु जोड्ने कान्तिलोकपथ पनि अवरुद्ध छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डाइभर्सन बगाएपछि आइतबार बिहानदेखि नै गाडीको आवतजावत रोकिएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीले हेटौँडा–काठमाण्डु यात्रामा यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।