दशगजानजिक भारतद्वारा सडक निर्माण धमाधम

दशगजानजिक भारतद्वारा सडक निर्माण धमाधम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा – भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा पुन: अघि बढेको हो ।

रोहिणी गाउँपालिका–५, इमिलिहवा र वडा ६ को बुची गाउँसँग जोडिएको दशगजापारि भारत सरकारले फराकिलो सडक निर्माण गरिरहेको छ । सडक निर्माणपछि पानीको बहाव थुनिएर आफ्नो गाउँ डुबानमा पर्ने चिन्ता वारिपट्टिका नेपालीमा रहेको छ ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले निर्माणाधीन सडकले ठूलो पानी परेका बेला नेपाली भूभाग डुबानमा पर्ने बताए । ‘सडक जति अग्लो हुन्छ, त्यति धेरै नेपाली जमिन डुबानमा पर्छ,’ उनले भने, ‘भारतीय पक्षबाट दुवै मुलुकका सीमावर्ती स्थानीयसँग समन्वय र छलफल गरेर सडक निर्माण गरेको भए हुन्थ्यो ।’ उनले सीमा क्षेत्रमा बन्ने संरचनाले कहाँ कहाँ धेरै डुबान हुन्छ, त्यहाँबाट कसरी पानीलाई निकास दिन सकिन्छ भन्ने विषयमा बेलैमा छलफल गर्न जरुरी रहेको बताए ।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका अनुसार अहिले उक्त सडक निर्माणमा ३०/३५ जना मजदुर खटिने गरेका छन् । ‘पहिल्यै बनाएको सडकको संरचनामा ठाउँठाउँमा माटो हाल्ने र सम्याउने काम भइरहेको छ,’ सीमामा तैनाथ नेपाल प्रहरीका एक अधिकृतले भने, ‘डोजरले खनेको, ट्रयाक्टरले माटो ओसारेको र रोलरले मिलाएको देखिन्छ ।’

भारतीय प्रधानमन्त्री सडक परियोजनाअन्तर्गत उक्त सडक ४ लेनको बनाइँदै छ । सडक निर्माणका क्रममा अधिग्रहणमा परेको जमिनलाई भारत सरकारले प्रतिएकड (१२ कट्ठा) ४५ लाख रुपैयाँका दरले मुआब्जा प्रदान गरेको छ । जुन चलनचल्ती भन्दा धेरै राम्रो मूल्य हो ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।