तीन दशकअघि रेखांकन भएको सडकमा बल्ल कालोपत्र

तीन दशकअघि रेखांकन भएको सडकमा बल्ल कालोपत्र


दमौली-करिब तीन दशकअघि रेखांकन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो ।

तीन दशक अगाडि ट्रयाक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो । यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्नेछ ।

नगरपालिकाले उक्त सडकखण्डलाई नगर गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ । नगरपालिका, प्रदेश र संघीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दैलैजाने प्रमुख त्रिपाठीले बताए । रासस