काठमाण्डु- राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको सपना पूरा भएको हो ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा नै शिलान्यास भएको थियो । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली बेलिब्रिज अर्थात् पुलको उद्घाटन आइतबार गर्दैछन् । कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निर्माणधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जान लागेका हुन् ।
पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
केही दिनअघि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने दशकौँ पुरानो सपना पूरा हुन लागेको र यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी देश चीनसँग जोडिने उल्लेख गर्नुभएको थियो ।
२६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रूपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन। यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुने भएको छ।
यसअघि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ‘हुम्ला अब टाढा छैन’ भन्ने जानकारीसहितको एक पोष्ट सार्वजनिक गरेका थिए। उनले हुम्लामा सडक सञ्जाल पुर्याउने आफ्नो दशकौँ पुरानो सपना पूरा हुँदै गरेको लेखेका थिए।
‘देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने २६ वर्षको सपना अब पूरा हुँदैछ,’ प्रधानमन्त्रीले लेखेका थिए, ‘यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ।’
प्रतिक्रिया