सदनमा उपस्थिति अनिवार्य बनाउन रास्वपाले बनायो समूहगत तालिका

सदनमा उपस्थिति अनिवार्य बनाउन रास्वपाले बनायो समूहगत तालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थिति सुनिश्चित गर्न समूहगत उपस्थिति तालिका निर्धारण गरेको छ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै असोज ८ गतेदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसदलाई तोकिएका दिनमा अनिवार्य रूपमा संसद् बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्।

तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य उपस्थित हुनुपर्नेछ। यस्तै, असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको उपस्थिति अनिवार्य गरिएको छ।

समूह निर्धारण नगरिएका सांसदलाई समेत संसद् बैठकमा उपस्थित हुनुपर्ने र विशेष अवस्थाबाहेक संसद्को उपस्थिति सबैका लागि सधैँ बाध्यकारी हुने रास्वपाले जनाएको छ।

रास्वपाले बैठक अवधिभर छलफल प्रभावित नहुने गरी सांसदहरूले खाजा तथा अन्य आवश्यक कामका लागि पालैपालो समय मिलाउनसमेत निर्देशन दिएको छ।

त्यसैगरी, कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा प्रस्तुत हुने समयमा तोकिएका सबै सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।

मुख्य सचेतक बुर्लाकोटीले संसद् बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न समूहगत तालिका लागू गरिएको बताएका छन्।